काठमाडौं । नेपाली फिल्मको व्यवसायिक पाटो खस्कदो छ। पछिल्लो समय रिलिज भएका कुनै पनि फिल्मले बक्सअफिसमा राम्रो प्रस्तुति दिन सकेन। वितरक र निर्माण युनिटले सार्वजनिक गर्ने कलेक्सन पनि गलत भएको भन्दै फिल्म सम्बन्धि संघ र संगठनहरुले पनि आलोचना गरे। यस्तोमा फागुनदेखि जडान गर्ने भनिएको बक्सअफिस सर्भरले केही राहत देला।

समीक्षात्मक रुपमा कमजोर मानिए पनि फिल्म ‘कृ’ले व्यवसायिक रुपमा राम्रो प्रस्तुति दिने आँकलन गरिएको छ। यसअघि सार्वजनिक फिल्महरु शेरबहादुर र पटुकी भने दुई बलिउड फिल्म पद्मावत र प्याडम्यान र एक नेपाली फिल्म कृका कारण हलबाट उत्रिसकेका छन्।

सिंगल स्क्रिनमा मात्र सो पाएको फिल्म पटुकीले लगानी उठाउने परको कुरा केही सय दर्शकको साथ समेत पाएन। फिल्म गत साता शुक्रबार प्रदर्शनमा आएको थियो। आजभोली हलमा राम्रो प्रदर्शन गर्न नसक्ने फिल्मलाई डिसहोममार्फत रिलिज गर्ने गरिएको छ। तर पटुकी युनिटले लगानी उठाउन सकिने उक्त बाटो अपनाएनन्। फिल्मले हलमा पानी समेत भन्न नपाएपछि युट्युब रिलिज गरियो। विहीबार नै उक्त फिल्म इन्टरनेट अपलोड गरियो। प्रेमकथामा आधारित फिल्ममा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको मुख्य अभिनय छ। फिल्मका निर्देशक राम नेपाल हुन्।