जग्गाको स्वामित्व हस्तान्तरण नहुँदा नेपाल संस्कृत विश्वविद्यालयको भवन बेवारिसे



काठमाडौँ, भदौ २६ गते । जग्गाको स्वामित्व हस्तान्तरण नहुँदा काठमाडौँको वसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयको भवन बेवारिसे बनेको छ। २०७२ सालको भूकम्पले नेसंविको पुरानो भवनलाई निकै क्षति पु-याएको थियो। २०४३ सालमा नेसंवि स्थापना भएपछि उक्त भवन र जग्गा भोगचलन गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उपलब्ध गराएको थियो। त्रिविले भोगचलन गर्न दिए पनि नेसंविमा नामसारी भएको छैन। 

नेसंविको सो भवन भत्किने स्थितिमा पुगेको छ। भूकम्पपछि टेकोले धानेको त्यो भवन कुनै पनि बेला दुर्घटना हुन सक्ने अवस्थामा छ र त्यस्तो स्थितिमा मानवीय क्षतिसमेत हुन सक्नेमा स्थानीय निकै त्रसित छन्। भूकम्प जानुअघिसम्म त्यहाँ नेसंविको सम्पर्क कार्यालय थियो। जीर्ण भवन वरपर चिया पिउनेदेखि घुम्न जाने पर्यटक झुम्मिएर बस्ने गरेका छन्। जीर्ण भवनका बारेमा कसैले पनि हेक्का राख्ने गरेका छैनन्।  

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त भवनको जीर्णोद्धार गरिदिने भनेको तर नेसंविको नाममा जग्गा र भवन नभएकोले काम सुरु गर्न नमानेको बताउनुभयो।

“पुनर्निर्माण प्राधिकरणले नेसंविले भोगचलन गरेको वा आफ्नै नाममा भएको प्रमाण ल्याउनुस् भन्छ। हामीसँग त्यस्तो केही पनि कागजपत्र छैन। त्रिविलाई नामसारीका लागि अनुरोधपत्र पठाए पनि उसले इच्छा देखाएको छैन” उहाँले भन्नुभयो। 

भवनको व्यवस्थापन गर्न स्थानीयले पटक–पटक अनुरोध गरे पनि सुनुवाइ भएको छैन। भवन भत्काएर वा रेट्रोफिटिङ गरेर भए पनि जोखिम टार्न स्थानीयले हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको कार्यालयमा पटक–पटक गुनासो गरिसकेका छन् तर सो भवन आफ्नो नाममा नभएकोले उक्त कार्यक्रमले पनि गुनासो सुन्नेबाहेक स्थानीयवासीको समस्या समाधान गर्न सकेको छैन।

स्थानीयवासीले गुनासो गरेपछि उक्त कार्यालयले नेसंविलाई पत्राचार गरेको थियो। कार्यक्रमका कार्यालय प्रमुख रोशनमान शाक्यले भन्नुभयो, “बच्चादेखि वृद्धसम्मका घुम्ने यस ठाउँमा जीर्ण भवनले निकै जोखिम निम्त्याएको छ तर व्यवस्थापन गर्न सम्बन्धित निकायमा हामीले अनुरोध गरे पनि कार्यान्वयन भएको छैन।”  

भवनको अगाडिको भागलाई टेकोले अड्याइएको भए पनि पछाडिको भागबाट इँटाको टुक्रा झर्न थालेको छ। झ्यालढोका पनि झर्नै लागेका छन्। केही झ्याल त चोरी पनि भइसकेको छ। उहाँले भवनको पछाडिको भाग खुला भएकोले साँझपख दुव्र्यसनीहरू भवनभित्र गएर मादक पदार्थ सेवन तथा अन्य अनैतिक काम गर्न थालेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्। तत्काल भवन भत्काउन नसकेपछि प्रहरीलाई अनुरोध गरेका छौँ।”

प्रकाशित: १ आश्विन २०७९, शनिबार ००:२४