हवाईमार्गको दुर्दशा : १९ वटा विमानस्थल गौचरनमा परिणत



काठमाडौँ, असोज १ गते । हवाई यातायातबाट राज्यले अधिकतम फाइदा लिने उद्देश्यसहित देशभर निर्माण भएका ५३ विमानस्थलमध्ये सेवामूलकतर्फका १६ वटा विमानस्थल घाटामा सञ्चालन भइरहेका छन्। 

विमानस्थल निर्माणका लागि आवश्यकता, औचित्य र दीर्घकालीन रूपमा विमानस्थल सञ्चालनको सुनिश्चितता नहुँदा ती विमानस्थल बर्सेनि घाटामा सञ्चालन हुँदै आएका हुन्।

सरकारी जहाजको सङ्ख्या कम हुनु, निजी हवाई कम्पनी नाफामूलक सेक्टरमा उडानमा बढी आकर्षित हुनु र मौसमका कारण नियमित उडान नहुँदा मुख्यतया पहाडी भेगका विमानस्थल घाटामा देखिन्छन्। घाटामा रहेका विमानस्थल तराई, उच्च हिमाली भेगका विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानीमा निर्भर रहँदै आएका छन्।

नियमित दैनिक दुई उडान भए विमानस्थल सञ्चालन खर्च उठ्न सक्ने सम्भावना रहे पनि कहिले महिनौँसम्म समेत उडान नहुँदा ती विमानस्थलले लामो समयदेखि घाटा बेहोर्दै आएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

महिनौँ उडान नहुने त्यस्ता विमानस्थलले वार्षिक एक लाख रुपियाँसमेत आम्दानी गर्दैनन्। करोडौँ रकम लगानी गरेर निर्माण भएका विमानस्थलमध्ये वार्षिक एक लाख रुपियाँसमेत आम्दानी नगर्ने बैतडीको पाटन विमानस्थल, खोटाङको थामखर्क र मनमाया राई (खानीडाँडा) विमानस्थललाई उदाहरणका रूपमा लिन सकिन्छ। 

प्राधिकरणको आँकडाअनुसार घाटामा रहेका विमानस्थलमध्ये मनमाया राई (खानीडाँडा) विमानस्थलको वार्षिक आम्दानी सबैभन्दा कम वार्षिक ३७ हजार रुपियाँ रहेको छ।  यो विमानस्थलको वार्षिक खर्च भने ११ लाख ५६ हजार रुपियाँ छ। त्यसैगरी रामेछाप विमानस्थलले सबैभन्दा बढी १९ लाख आठ हजार रुपियाँ वार्षिक घाटा बेहोर्दै आएको छ।

प्राधिकरणका अनुसार घाटामा रहेका विमानस्थलमा दैनिक दुईवटा उडान गर्नसके विमानस्थल सञ्चालन गर्न अन्य विमानस्थलको आम्दानीमा निर्भर रहनुपर्ने अवस्थाबाट मुक्त हुन सकिन्छ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले घाटामा रहेका विमानस्थलको सञ्चालन खर्च उठाउन विमानस्थल सेवा शुल्क र उड्डयन शुल्क वृद्धि गरिएको छ। 

पहिले पहाडका विमानस्थलमा उडान भर्दा विमानस्थल सेवा शुल्क १० रुपैयाँ रहेकोमा हाल बढाएर दुई सय पु¥याइएकाले घाटाका विमानस्थल विस्तारै नाफामा जान सक्ने उहाँले बताउनुभयो। 

उहाँले भन्नुभयो, “पहाडमा दैनिक १८ सिटे जहाजले दुई उडान गर्दा विमानस्थलले दैनिक सात हजार दुई सय रुपियाँ आम्दानी गर्छ। मौसमले साथ दिए वर्षभर नै उडान गर्न सके वार्षिक २५ लाख रुपियाँभन्दा बढी आम्दानी गर्न सकिन्छ।” 

त्यसैगरी नियमित उडानपछि कार्गाे उडान सञ्चालन भए थप आम्दानी हुने उहाँको विश्वास छ। प्राधिकरणका अनुसार हाल बझाङ, बाजुरा, साँफेबगर, पाटन, दिपायल, सुर्खेत, टरिगाउँ, जुम्ला, थामखर्क–मनमाया राई (खानीडाँडा), फाप्लु, डोल्पा, रुम्जाटार, ताप्लेजुङ, भोजपुर, तुम्लिङटार र रामेछाप विमानस्थल घाटामा छन्।

पछिल्लो समय सिमकोट, लुक्ला र जोमसोम तथा तराई भेगका र अन्तर्राष्ट्रियतर्फका सहित १८ विमानस्थलले भने नाफा बढाउँदै लगेका छन्। हिमाली क्षेत्रमा सञ्चालनमा रहेका विमानस्थलमा विदेशी पाहुनाको चहलपहल र कार्गाे उडानको सङ्ख्या एवं तराई क्षेत्रमा यात्रु धेरै भएकाले रात्रिकालीन उडानसमेत हुने गरेकाले ती विमानस्थल नाफामा देखिएका हुन्। 

हाल देशभर अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ गरेर ५३ विमानस्थलमध्ये आन्तरिकतर्फका १९ वटा विमानस्थल गौचरनमा परिवर्तन भइसकेका छन्। नाफामा रहेका विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अग्रस्थानमा छ भने आन्तरिक उडानतर्फ सबैभन्दा बढी नाफा कमाउने विमानस्थल पोखरा विमानस्थल रहेको छ।

प्रकाशित: १ आश्विन २०७९, शनिबार ००:३०