काठमाडौ । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनले आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि उम्मेदवार बन्ने सूचीमा रहेका लोकतन्त्रवादी पत्रकारहरुसँग छलफल गरेको छ । नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिको आयोजनामा आज काठमाडौंमा भएको कार्यक्रममा आंकक्षीहरुलाई उम्मेदवार बनाउनका लागि पार्टीसँग पहल गर्ने सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिब लम्सालले संसदमा प्रतिनिधित्व गराउनका लागि पहिलो आधार उम्मेदवार बन्नु पर्ने रहेको बताउनुहँदै त्यसका लागि युनियनले पहल गर्ने बताउनुभयो । उहाँले प्रेस युनियन आवद्ध साथीहरुलाई उम्मेदवार बनाउनका लागि शीर्ष नेतृत्व र संसदीय बोर्डमा रहेका व्यक्तिहरुलाई ध्यानाकर्षण गराउने बताए ।
अहिलेसम्म ३० जना भन्दा बढी लोकतन्त्रवादी पत्रकारहरु विभिन्न ठाउँबाट प्रत्यक्ष र समानुपातिकतर्फ केन्द्र र प्रदेशमा सिफारिस भएका छन् । नेपाल प्रेस युनियनका पूर्व सल्लाहकार कबिर राणा संघीय संसद अन्तर्गत भक्तपुर दुईबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस भएका छन् । यसैगरी अन्य पत्रकारहरु भने प्रदेश र संघीय संसदको समानुपातिकतर्फ सिफारिस भएको नेपाल प्रेस युनियनका अध्यक्ष लम्सालले जानकारी दिए ।
नेपाली कांग्रेसमा साढे ४ दशकदेखि क्रियाशील राणालाई भक्तपुर २ बाट मंसिर ४ गते हुने संघीय निर्वाचन अन्तर्गत प्रतिनिसभामा उम्मेदवार बनाउनका लागि कार्यकर्ताहरुले पनि पछिल्लो समय नेतृत्वलाई चर्को दबाव दिँदै आएका छन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएको यस क्षेत्रमा अहिले कांग्रेसलाई स्थापित गर्न पनि राणाको विकल्प नभएको कार्यकर्ताको बुझाई रहेको छ ।
२०३६ सालमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको सदस्य रहेका राणा स्कूले जीवनमा आदर्श माविमा २०३७ सालमा इकाई सचिव भएका थिए । पञ्चायतविरुद्धको आन्दोलनमा राणालाई पटक पटक प्रहरीले कस्टडीमा राखेको थियो ।
पत्रकारिता र राजनीतिलाई एकसाथ अगाडि बढाएका राणा भक्तपुरमा लोकप्रिय नेताका रुपमा गनिन्छन् । खरो र हक्की स्वभावका राणा २०४२ सालको सत्याग्रह आन्दोलनमा ६ महिना जेल बसेका थिए । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचन पछि उनी जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसको राजनीतिसँगसँगै समाज सेवा र पत्रकारितामा क्रियाशील राणा २०५६ सालदेखि २०७० सालसम्म केन्द्रीय प्रचार विभाग सदस्य भएर काम पनि गरेका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका बेला हरेक आइतबार देशान्तर साप्ताहिक प्रकाशित भएपछि सधैं सोमबार बयान दिन जानुपर्ने अवस्थामा पनि उनले निरन्तर लोकतन्त्रको पक्षमा कलम चलाएका थिए ।
विगतको विरासत फर्काउन पनि राणा उपयुक्त उम्मेदवार बनाएमा नेपाली कांग्रेसको जीत निश्चित रहेको बताइएको छ । उक्त क्षेत्रको ग्रामीण भेगमा अत्यन्तै राम्रो प्रभाव रहेको र मध्यपुर नगरमा पनि राम्रै प्रभाव जमाएका राणाको जितको आधार बलियो देखिन्छ ।
उम्मेदवारको सिफारिस सूचीमा पूर्व सल्लाहकार राणासहित, युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले, किरण पोखरेल निवर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पूर्व उपाध्यक्ष बाला अधिकारी, पूर्व कोषाध्यक्ष सरोज अधिकारी लगाएत रहेका छन् ।
प्रकाशित: १ आश्विन २०७९, शनिबार ०२:२६