गाउँघरमा हुने राजनीतिको कथा हो नाटक ‘तन्त्र’



काठमाडौँ, भदौ ३१ गते । गाउँघरमा हुने राजनीतिको कथा हो नाटक ‘तन्त्र’ । शान्तिराम गाउँमा गाउँलेहरू बाटो खन्न व्यस्त छन् तर बाटोको काम कहिले सकिने हो, कसैलाई थाहा छैन। यसमा पनि राजनीति मिसिएको छ। मनबहादुर (रोमर्श राय ठकुरी) र धनबहादुर (लक्ष्मण केसी) मिल्ने साथी हुन्। दुवै एकअर्काका लागि ज्यानसमेत दिन तयार छन् तर उनीहरूले गर्ने राजनीतिको बाटो भने अलग छ। त्यही राजनीतिले गर्दा पछि दुवैबीच बोलचाल नै बन्द हुनेसम्मको अवस्था आउँछ। यी दुवैबीचको मित्रताको उतारचढावको कथा हो नाटक ‘तन्त्र’ । 

देशमा धेरै परिवर्तन भए तर जनताले के पाए ? पहिलेको तन्त्रदेखि अहिलेको तन्त्रसम्ममा हामी जनता कता छौँ र हामीले हिँड्ने बाटो अब कता मोडिन्छ भन्ने प्रश्नमा अल्झिएको छ, नाटक। देशमा कहिले आउँछ परिवर्तन। के सधैँ जनता चुप लागेर मात्र बस्ने हो भन्ने प्रश्नको जवाफ पनि हो, ‘तन्त्र’ । 

नाटकले मुख्य गरेर दुई विषयलाई महत्वका साथ उठान गरेको छ। पहिलो लोक संस्कृति र दोस्रो राजनीति। नजिकको तीर्थ हेला भनेझैँ आफ्नै मौलिक संस्कृतिलाई बिर्सँदै पश्चिमेली संस्कृति अँगाल्दा मौलिक पहिचान लोप हुँदै गइरहेको छ। गाउँघरमा बर्खे धान लगाउँदा खेतमा गाइने असारे गीत र सत्यनारायणको पूजाका साथै शुभकार्यमा राति गाइने खैजेडी भजनलाई नाटकमा आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ। नाटकमा अहिलेको राजनीतिक परिवेश गहकिलो ढङ्गबाट देखाइएको छ। 

कसरी गाउँमा एउटा साधारण जीविका चलाइरहेका मान्छे ठगेन्द्र (गोपाल मरहट्ठा) ठूलो नेता बन्छन् भन्नेदेखि लिएर गाउँमा मर्दापर्दा मन्त्रीभन्दा पनि पछि आफ्नै साथी काम लाग्छ भन्ने कुरालाई पेचिलो ढङ्गबाट नाटकमा प्रस्तुत गरिएको छ। नाटकमा धनबहादुर र मनबहादुरको छोराछोरीको मायाप्रेमलाई पनि सामेल गरिएको छ। 

यता सहरबाट केही गर्ने अठोट लिएर गाउँ छिरेका मसिने दाइ (दीपक कोइराला)को अभिनयलाई पनि हामीले भुल्नुहुँदैन। उनको अभिनयबाट नै नाटकमा धेरै कुरा खुलस्त हुन्छ। यस्तै कसरी एउटी महिला अस्पतालको उपचार ढिलो पाएर मृत्यु अँगाल्न पुग्छिन् भन्ने कुरा पनि नाटकको मुख्य विषय बनेको छ। यी सबै कुराको सँगालो हो नाटक ‘तन्त्र’ । एभरेस्ट फिल्म एकेडेमीको प्रस्तुति रहेको नाटकमा एकेडेमीकै विद्यार्थीको अभिनय रहेको छ। सुमन थापा, दीपक कोइराला, मारिया कार्की, सन्तोष विष्ट, सोनिका शाही ठकुरी, लक्ष्मण केसी, लेखनाथ विक, योगेश खतिवडा, गोपाल मरहट्ठा, रोमर्श राय ठकुरीको नाटकमा अभिनय रहेको छ। 

निर्देशकीय पक्षबाट हेर्ने हो भने निर्देशक तथा लेखक भोलाराज सापकोटाले नाटकलाई राजनीतिक परिवेशमा झल्काउन खोज्नु राम्रो हो तर मञ्चमा लाइटको व्यवस्थापन र एउटा दृश्यबाट अर्को दृश्यमा जाँदा कलाकारले गरेका कछुवा तालको कामले नाटक केही खस्केको हो कि जस्तो भान हुन्छ। सबै कलाकारको अभिनय मध्यम छ। स्टेज व्यवस्थापनमा खासै नयाँपन छैन। निर्देशकले राजनीतिक घोचपेचमा नाटक बनाउने कामसँगै मञ्च व्यवस्थापनमा पनि केही ध्यान दिएको भए नाटक अझै बेजोड बन्थ्यो कि ? 

प्रकाशित: १ आश्विन २०७९, शनिबार ०२:४४