१७ दिनको तयारी मै बनिन् अनिता निरौला सहसचिव



राज्यको नीति निर्माणको तहमा पुग्ने युवा महिलाको संख्या पछिल्लो समय बढ्न थालेको छ। निजामती सेवामा प्रवेश गरेको छोटो समयमै खुला प्रतिस्पर्धाका माध्यमबाट निजामती सेवाको निर्णायक तहसम्म पुगेका महिला अब्बल पनि छन् । १८ वर्षको समयावधिमै खरिदारदेखि सहसचिवसम्म पुग्नुभएको हो अनिता निरौला। त्यो पनि ३६ वर्षको उमेरमा।  सङ्खुवासभाकी  अनिताले १९ वर्षको उमेरमा ०५९ मङ्सिरमा खरिदारबाट सेवा प्रवेश गर्नुभयो। उहाँले खुला प्रतियोगिताबाट लोकसेवाको परीक्षा पास गरेर  ०७७ असारमा सहसचिवमा नियुक्ति लिनुभएको हो। हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव अनिताले २०६३ मा शाखा अधिकृत र ०७० मा उपसचिव पास गर्नुभएको थियो। पत्रकारिता र अङ्ग्रेजीमा स्नातक तथा  जनप्रशासनमा स्नातकोत्तर र नर्वेबाट एमफिल गर्नुभएको छ अनिताले।

अनिताको भनाइमा निजामती सेवामा महिला तथा युवा वर्गको प्रतिनिधित्व गरेमा प्रशासनमा नवीन सोच शैली र कार्यसंस्कृति भित्र्याउँदै कर्मचारीतन्त्रकै साख बढाउन सकिन्छ। सकारात्मक सोच राख्ने अनिताले निजामती सेवा भित्र आध्यात्मिकताको माध्यमबाट कर्मचारीको प्रवृत्ति र  सेवा प्रवाहको सँस्कृतिमा सुधार ल्याउन सकिनेमा जोड दिनुहुन्छ। गाविस सचिव काम थाल्नु भएकी अनिता निरौलाको १८ वर्षको सरकारी सेवाको अनुभव उहाँकै शब्दमा।

नर्स बन्ने रहर

मेरो घर पनि माइती पनि  सङ्खुवासभा हो। १० जना दाजुभाइ दिदिबहीनीमध्येकी नवौं सन्तान हुँ। सानैदेखि पढाइमा मेरो विशेष रुची भएकोले ५ कक्षा सम्म त पहिलो नै हुन्थ्ये। एसएलसीमा पनि जिल्ला टप गरेकी थिएँ। मेरो दाजुले एसएलसीमा फस्ट डिभिजना ल्याए काठमाडौ लगेर पढाउँछु  भन्नुभएको थियो। मलाई पढ्न साह्रै रमाइलो लाग्ने।  एसएलसी राम्रो अंकमा उतिर्ण गरेपछि  काठमाडौ आएर पढ्न थालँ। दाजुहरू पनि  निजामती सेवामै भएकोले मलाई धेरै पढने र जागिर खाने रहर जागेको थियो। तर निजामतीमै आउँछु भन्ने लागेको थिएन। मलाइ त नर्स बन्छु जस्तो लाग्थ्यो। तर सो विषय नपढेकोले नर्स बन्ने रहर भने अधुरै रह्यो। पछि फेरि पत्रकारितामा  मेरो झुकाव हुन थाल्यो। पत्रकारिता लिएर पढें। पत्रकारिता नै  गरौंकी भन्ने पनि लागेको थियो। तर यो क्षेत्रमा पनि मन रमाएन।  पछि दाजुहरूको सल्लाहले यस क्षेत्रमा प्रवेश गरे। अहिले त यसमै आएर धेरै ठिक गरेछु भन्ने लागेको छ।

नानी सचिवको छोरी हौ भन्थे

मैले १८ वर्षमा खरिदारमा जाँच दिएकी थिएँ। पहिलोपटकमै नाम  निस्कियो। त्यसपछि मेरो सिन्धुपाल्चोकमा गाविस सचिवमा मेरो पदस्थापन भयो।  गाविस सचिवसँगको काम लिएर आउने सेवाग्राहीले मलाई देखेपछि कामै नगरी अरु पुरुष भएतिर जान्थे। गाविस सचिव खै भन्थे। मलाई नानी तिमी गाविस सचिवकी छोरी हौ ? भन्थे। सायद मलाई सानी देखेर मलाई गाविस सचिवको रुपमा पत्याउँथेन होला तर मैले  आफ्नो जिम्मेवारीभित्रको सबै काम राम्रोसँग गरेकी हुन्थें।  काम र नतिजा देखाएर सबैको विश्वास आर्जन गरेँ। झट्ट हेर्दा मलाई सानो देखेर नपत्याए पनि काम लिएपछि आजसम्म सबै प्रभावित र सन्तुष्ट नै भएको पाएकी छु। आफ्नो कामका साथै वृत्तिविकास पनि उत्तिकै ध्यान दिन थालेँ र माथिल्लो तहको परीक्षाको तयारी थालें।

बच्चासहित नर्वेमा पढाइ

म खरिदारको जागिर गरिरहेकै बेला स्नातक तहको पढाइ सकाएँ र शाखा अधिकृतको तयारी थालेँ। सरकारले सञ्चालन गरेको लैंगिक मूलप्रवाहिकरण कार्यक्रममा शाखा अधिकृतको तयारी कक्षामा एक महिना पढेपछि २०६३ मा शाखा अधिकृतमा नाम निस्कियो। मेरो पढ्ने तरिका र लेखनशैली राम्रो र अरुको भन्दा फरक भएकोले नाम निकाल्न समस्या भएन। त्यसपछि स्वास्थ्य मन्त्रालयमा पोस्टिङ भयो। शाखा अधिकृत भैरहेका बेला एमपीए पनि पास गरेँ। पछि नर्वे गएर एमफिलको गरेँ। शुरुको वर्ष बच्चा घरमै छोडेर नर्वे पढ्न गएको थिएँ। अर्को वर्ष बच्चालाई पनि आफैसँग लगेर चाइल्ड केयरमा राखेर पढेँ। विदेशको बसाइमा सानो बच्चा हेर्ने र पढ्ने सँगै गर्दा चुनौतिपूर्ण त थियो तर निरन्तर प्रयास गरेपछि सबै सहज  हुँदै गयो।  २ वर्षको पढाइ सकेपछि नेपाल आएर फेरि उपसचिवको तयारी थालेँ। काम गर्दै वृत्तिविकासको तयारी गरेँ। काममा सिकेका व्यवहारिक कुरा र पाठ्यक्रममा भएका सिद्धान्तका कुरा तालमेल गराएर पढ्ने गरेको कारण पास हुन सजिलो भयो।  एक महिनाको तयारीमै उपसचिव भएकी थिएँ।

१७ दिनको तयारीमै सहसचिव

मैले जुन तहमा जागिर गर्दा पनि आफ्नो जिम्मेवारी सँगसँगै माथिल्लो तहको तयारीलाई अघि बढाएकी हुन्थेँ। अफिसको कामबाट फर्केपछि पढाइलाई प्राथमिकता दिन्थेँ। साथमा घरायसी जिम्मेवारी त छँदै थियो। परिवारका सदस्यहरू र श्रीमानको सहयोग भएकोले सबैखाले जिम्मेवारी निर्वाह गर्न सहज भएको थियो।  उपसचिव भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जस्ता निकायमा रही काम गरेँ। यस क्रममा देशको समग्र वस्तुस्थिति बारे बुझ्ने मौका पाएँ भने सेवाप्रवाह र कर्मचारीको जिम्मेवारीबारे प्रष्ट भयो। पेशाप्रतिको अपनत्व बढ्दै गयो भने वृत्तिविकासको रहर पनि उसैगरी बढ्यो। पछि फेरि सहसचिवको तयारी थालेँ। १७ दिन पढेर सहसचिवमा नाम निकालेँ। आरक्षण सिटबाट नाम निस्केको थियो। म भित्र पढेका र देखेका कुरालाई लेखाइ मार्फत बुझाउन सक्ने क्षमता थियो।  आध्यात्मिक मार्गतिर पनि लगेको थिएँ। जसले सकारात्मक सोचको विकास भयो। सकारात्मक सोचले पनि म सफल हुनुमा ठूलो भूमिका खेलेको छ। सहसचिव भएपछि कृषि मन्त्रालयमा  पदस्थापना भएको थियो।  १७ महिना देखि भने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत छु।

निजामती सेवाको उच्च तहमा युवा

निजामती सेवामा सुधार  जरुरी छ। कर्मचारीको कार्यशैलीमा सुधार गरी जनमुखी प्रशासनको विकास गर्न निजामती सेवाको माथिल्लो तहमा परिवर्तन जरुरी छ। निर्णायक तहमा परिवर्तन आयो भने तल्लो तहमा परिवर्तन हुने हो। यसको लागि युवालाई निजामतीको उच्च तहमा पुर्‍याउनु जरुरी छ। किनभने युवाहरूसँग काम गर्ने जोस जाँगरको साथै नवीन सोच र शैली छ। उनीहरूको क्षमता उपयोग गर्न सकेमा परिवर्तन आउन सक्छ। अहिलेपनि कर्मचारीतन्त्रभित्र असमानता तथा हिंसाजस्ता गतिविधि भएको सुनिन्छ। यस्तो हुन नदिन र सेवाभित्रै सदाचार र नैतिकता कायम गर्न सबै कर्मचारीलाई आध्यात्मिक ज्ञान र तालिम दिनु पनि उत्तिकै जरुरी छ। यसकै माध्यमबाट मात्र यस निजामती सेवामा हुने भ्रष्टाचार तथा अनुचित कार्य रोक्न सकिन्छ। कर्मचारीलाई जहाँ पठायो त्यहीँ गएर इमानदारीपूर्वक र शान्तपूर्वक  काम गर्न योग्य बनाउनको लागि पनि निजामती कर्मचारीलाई आध्यात्मिक बनाउनु जरुरी छ। किनभने सकारात्मक सोचले गरेको कामले मात्र राम्रो नतिजा दिन सक्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाशित: २ आश्विन २०७९, आईतवार ०१:०५