‘कन्फर्म’मा आफै ‘कन्फ्यूज’मा कोइराला क्याम्पलाई भाग लगाउने रणनीतिमा संस्थापन पक्ष


तरुण पत्रिका

२ आश्विन २०७९, आईतवार ०५:४२

काठमाडाैं,२ असाेज । प्रतिनिधि र प्रदेशसभा निर्वाचन आउन २ महिना बाँकी हुँदा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा विवाद बढेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र उनीसँगै सभापतिमा पराजित नेता डा. शेखर कोइराला समूहबीच चुनावी एजेण्डा र भागबण्डा नमिल्दा दुरी बढ्दै गएको हो । सरकार र पाँच दलिय गठबन्धनको समेत नेतृत्व गरेको कांग्रेसमा आगामी मंसिर ४ मा हुँने निर्वाचनका लागि नेता व्यवस्थापनमा चुनौति देखिएको छ । सबैभन्दा पुरानो पार्टी कांग्रेसमा तीन तहका नेताहरु भएकाले नेता व्यवस्थापनमा सकस देखिनुलाई सामान्य रुपमा दिनुपर्ने नेताहरु बताउँछन्

संविधान र लोकतन्त्र बचाउने मुद्धामा एकठाउँ रहेका पार्टीहरुबीचको चुनावी तालमेल गरेर जानुपर्ने परिस्थितिका कारण कहि कसैलाई छाड्नुपर्ने भएकाले पनि केही समस्याहरु देखिएको नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताए । उनले भने, ‘गठबन्धन र पार्टीभित्र सबैलाई मिलाएर लाने पक्षमा हामी छौं, नेपाली कांग्रेस दुइचार सिट तलमाथि लिन वा छाड्ने भन्दा पनि परिणाम निस्कने गरी चुनावी मैदान जाने अवस्थामा छ ।’ लोकतन्त्रलाई संस्थागत गर्दै देशको समृद्धि विकास र जनताका समस्या समाधान गर्नका लागि कांग्रेस गठबन्धनमा सहभागि दलहरुलाईसँगै लैजान बाध्य भएको उनको भनाइ छ ।

तर महतले भनेजस्तो पार्टीको आन्तरिक समस्या समाधान हुनेगरी संस्थापन पक्ष नलागेको संस्थापन इतरका नेताहरुको गुनासो छ । संस्थापन पक्षले अरु दलका नेताहरुलाई बढी स्पेस दिएको तर आफै पार्टीभित्रको मुद्धा मिलाउन प्रयत्न नगरेको देउवामाथि आरोप छ । महाधिवेशनमा ४० प्रतिशत मत पाएको डा. कोइराला समुहलाई केन्द्रीय समितिमा २० प्रतिशत पनि नदिएको भन्दै आगामी निर्वाचनमा समेत यसको पुनराबृति हुने कोइराला समुहको निष्कर्ष छ । यही विषयमा छलफल गर्न उक्त समुहका नेताहरुले शनिबार आन्तरिक छलफल गरेका छन् । छलफलमा सभापतिले केन्द्रीय समितिमा जस्ते आगामी निर्वाचनमा पनि आफ्नो समुहलाई पाखा लगाएर अन्य दललाई च्याप्ने अवस्था रहेको नेताहरुले बताए । आफ्ना नेताहरुलाई भन्दा गठबन्धनमा सहभागि अरु दललाई बढी काखी च्याप्ने डर कोइराला समुहलाई छ ।

काठमाडौंको ठमेलस्थित एक होटलमा शनिबमर भएको बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवाले महाधिवेशनमा भोट नहालेकै आधारमा आफूहरुले टिकट नपाउने र अन्याय हुने अवस्था भए विद्रोह गर्ने चेतावनीसमेत दिए । बैठकमा नेता कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरु जीवन परियार र बद्री पाण्डे, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत नेताहरु सहभागी थिए । डेंगु संक्रमण भएका कारण महामन्त्री गगन थापा भने बैठकमा सहभागि हुन सकेनन् ।

पार्टीको विधान अनुसार महासधिवेशनको पहिलो चरणमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणमा देउवालाई उनकै खिलापमा उमेद्वारी दिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि, नेता रामचन्द्र पौडेल र शशांक कोइरालाले समेत सहयोग गरेर सभापति बनाएका थिए । देउवासँगै सभापतिको प्रतिष्पर्धामा उत्रीएका डा कोइरालापक्षलाई देउवाले समेटेर लागे प्रतिवद्धता जनाएका थिए । महाधिवेशनमै देउवाले भनेका थिए,‘ पार्टी भित्र म कसैलाई पनि अपमान र अन्याय गर्ने छैन्, सबैको भावनालाई सम्बोधन गर्ने छ्, सबैलाई अटाएर लाने छु ।’ पार्टी सभापति भैसकेपछि पनि विभिन्न कार्यक्रममा पटक पटक देउवाले उक्त कुरा दाहोर्याए पनि कार्यन्वायन नगरेको संस्थापन इतर समूहको गुनासो छ । डा.कोइराला निकट नेता गुरुराज घिमिमिरेले सभापतिले बोलेको कुरा कार्यन्वायन नभएको बताए ।

‘नेतृत्वले पटक पटक मिलाएर लान्छु, कसैलाई अपमान गर्दिन भन्नुहुन्छ अनि कार्यन्वायनमा एकपक्षिय गर्नुहुन्छ, घिमिरेले भने, ‘महाधिवेशनमा सभापतिजीलाई भोट हालेको वा नहालेको आधारमा निर्णयहरु भएका छन् यसले पार्टीमा गम्भीर असर पर्छ ।’ गठबन्धन गर्ने नाउँमा सभापति देउवाले कोइराला समूहको प्रभाव भएका क्षेत्र गठबन्धनका अन्य दललाई दिने गरी षड्यन्त्र हुने सम्भावना बढेपछि त्यसकालागि दबाब बढाउन छलफल गरिएको उनको भनाइ छ । ‘जहाँ कोइराला समूहको पकड छ, त्यस्ता ठाउँमा गठबन्धन गरेर अन्य दललाई सिट छोडिदिने षड्यन्त्र भइरहेको बुझिएको छ,’ घिमिरेले भने,–‘हामीले महाधिवेशनमा सभापतिजीलाई भोट हालेको वा नहालेको आधारमा अवसरको बाँडफाँट हुनु हुँदैन । सबैलाई न्यायोचित रूपमा अवसरको वितरण हुनुपर्छ भनेका हौँ,’ पार्टीको आन्तरिक महाधिवेशनमा प्रतिस्पर्धी भएकै कारण हामीलाई निषेध गर्ने प्रयास भयो भने हामी चुनाव नै लड्दैनौँ । सभापतिजी एक्लै लडे हुन्छ ।’

बैठकमा नेताहरुले ४० प्रतिशत भाग माग्न नेता कोइरालालाई दबाब दिएका छन् । ‘अहिलेसम्म न्यायोचित अवसरको वितरण भनेर पर्खिएकै हो । तर त्यस्तो हुन सकेको छैन,’ घिमिरेले थप्नुभयो,–‘चुनावमा टिकट वितरणमा पनि त्यही कुरा लागू हुने हो भने सहने कुरा छैन । हामीले ४० प्रतिशत सिट माग्ने र नपाएको अवस्थामा हामीले विकल्प पनि खोज्नुपर्ने हुनसक्छ । पार्टीभित्रको विद्रोह कसैले रोक्न सक्ने अवस्था हुँदैन ।’ कोइराला समुहले शनिबार गरेको आन्तरिक छलफल केन्द्रिय समतिमा भैरहेको पछिल्लो राजनीतिक डेभ्लप्मेन्टको अवस्थाका बारेमा भएको पार्टी सह महामन्त्री जीवन परियारले बताए । उनले भने, ‘हाम्रो सामान्य भेटघाटमात्रै हो, चुनावी रणनिति र सिट संख्या लगायत विषयमा पार्टीभित्र भएको राजनीतिक डेभ्लप्मेन्टकोका विषयमा शेखर दाइले ब्रिफिङ गर्नुभयो, अरु खासै केही हैन ।’

आगामी चुनावमा ‘कन्फर्म’ जित्ने क्षेत्रमा आफु निकटका नेताहरुलाई दिने, कोइराला निकट नेताहरुले जित्ने स्थानमा गठबन्धन दलका अन्य नेताहरुलाई दिने र निर्वाचन जित्न ‘कन्फ्यूज’ रहेका क्षेत्रमा कोइराला क्याम्पलाई भाग लगाउने रणनीतिमा सभापति देउवाले रहेको कोइराला समुहका नेताहरुको बुझाइ छ । पार्टीले समानुपातिकमा पठाउने नेताहरुका सन्दर्भमा २ सम्म टुंगो लगाएर ३ गते बुझाउने तयारी भैरहेको नेपाली कांग्रेसले जनाएको छ । अहिलेको टिकट वितरणले चुनाव पछिको सरका निर्माणमा समेत महत्वपूर्ण अर्थ राख्ने छ ।

प्रकाशित: २ आश्विन २०७९, आईतवार ०५:४२