काँग्रेसका निधिले छाडेपछि धनुषा ३ मा पुर्वमन्त्री द्धयको भिडन्त


तरुण पत्रिका

२ आश्विन २०७९, आईतवार ०६:५५

धनुषा । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ छोडिदिएपछि अहिले अन्य प्रभावशाली नेताहरु लोसपाको वरिष्ठ नेता राजेन्द्र महतो र नेकपा एमालेकी जुलीकुमारी महतो मुख्य दाबेदार हुन्। कांग्रेसबाट यस क्षेत्रबाट चुनाव लड्दै आइरहेका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि दुई पटक यस क्षेत्रबाट संसदीय निर्वाचनमा पराजित भइसकेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका पुण्यप्रताप मल्ल र पछिल्लो निर्वाचनमा तत्कालीन राजपाका राजेन्द्र महतोले निधिलाई हराए।

कांग्रेसको महामन्त्री हुँदै उपसभापतिसम्म भइसकेका उनी १४औँ महाधिवेशनमासभापति पदमा पराजित भएका थिए। सामान्य प्रशासनमन्त्री, शिक्षामन्त्री, भौतिक पूर्वाधार विकासमन्त्री हुँदै उपप्रधान तथा गृहमन्त्री समेत निधि भइसकेका छन्। यद्यपि आउने निर्वाचनमा उनी समानुपातिक बाटो रोजेका छन्। यसले एमाले नेतृ जुलीलाई केही सहज बनाए पनि राजेन्द्रले फेरि यसै क्षेत्रबाट चुनाव लडे यहाँको चुनावी प्रतिस्पर्धा रोचक हुनेछ।

उक्त क्षेत्रको बहालवाला प्रतिनिधि सभा सदस्य लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो टिकटका लागि प्रबल दावेदार हुन्। तत्कालीन सद्भावना पार्टीबाट राजनीति सुरु गरेर पटक–पटक सांसद तथा मन्त्री बनिसकेका महतो मधेश आन्दोलनको अगुवाइ गर्ने मुख्य नेता हुन्।

सर्लाहीको आफ्नो संसदीय क्षेत्र छोडेर गत निर्वाचनमा उनले धनुषाको क्षेत्र नम्बर ३ मा निधिलाई पराजित गरेका थिए।

यसपटक उनले चुनाव लड्ने क्षेत्र टुंगो लागिसकेको छैन। यद्यपि पार्टी श्रोतका अनुसार धनुषा ३ बाटै चुनाव लड्ने योजनामा उनी छन्। उनी सर्लाहीबाट २०४८ साल, २०५१ सालमा पराजित भएका थिए भने २०५६ र २०६४ सालमा विजयी भएका थिए। त्यसैगरी २०७० सालमा चुनाव हारेका उनी २०७४ सालमा भने धनुषाबाट विजयी भएका थिए। उनी तीनपटक उद्योग, वाणिज्य आपूर्तिमन्त्री, एकपटक स्वास्थ्य तथा जनसंख्यामन्त्री र एकपटक उपप्रधानसहित सहरी विकासमन्त्री भइ सकेका छन्।

यसपटक धनुषा ३ बाट प्रत्यक्ष निर्वाचन लड्ने सबैभन्दा पहिलो घोषणा एमाले नेतृ जुलीकुमार महतोले गरेकी छन्। गत भदौ २७ गते एमालेले जनकपुरधाममा आयोजना गरेको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले जुलीलाई नै यस क्षेत्रबाट टिकट दिने संकेत गरेका थिए। ओलीले धनुषा ३ मा कुनै दलका उम्मेदवारलाई समर्थन नगर्ने बरु आफ्नै उम्मेदवार खडा गर्ने बताएका थिए।

२०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक सांसद बनेकी उनी २०७० मा प्रत्यक्ष चुनाव लड्दा कांग्रेस नेता निधिबाट पराजित भएकी थिइन्। २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा उनलाई फेरि एमालेबाट समानुपातिक सांसद बनाइएको छ।

प्रकाशित: २ आश्विन २०७९, आईतवार ०६:५५