चोलेन्द्रको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा



काठमाडाैं,४ असाेज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालत सुरक्षा स्रोतका अनुसार वीर गोर्खाली अभियान, नेकपा (एमाले) निकट अनेरास्ववियु र १०० ग्रुपमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन गरिएको हो ।

गतवर्ष जबराविरुद्ध नेपाल बारले गरेको प्रदर्शनको विरोधमा १०० ग्रुपले हस्तक्षेप गरेको थियो । यसपालि पनि त्यो हुन सक्ने सूचनापछि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । १०० ग्रुप, अनेरास्ववियु कोकोले नेपालको झन्डा लिएर प्रदर्शन गर्ने सूचना छ । त्यो प्रदर्शन हुने सूचना भएकाले गर्दा सुरक्षा व्यवस्था गरिएको हो, सुरक्षा स्रोतले भन्यो ।

निलम्बनकै अवस्थामा सर्वोच्च अदालत आएर कार्यभार सम्हाल्ने जबराले प्रयास गरेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले जबरामाथि महाभियोग लगाउन ९ आधार र २ सुझावसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएसँगै जबराले भने सर्वोच्च फर्किने सूचना पठाएका थिए । सर्वोच्च प्रशासनलाई सूचना पठाएर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भएको भनेका थिए ।

प्रकाशित: ४ आश्विन २०७९, मंगलवार १२:१५