पुनः छलफलमा जुट्दै गठबन्धनका शीर्ष नेताहरू



काठमाडाैं,४ असाेज । सिट बाँड पफाँटलाई छाडेर समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउन लागेका गठबन्धनका शीर्ष नेताहरु पुरानै मेलोका फर्कीएका छन् । मंगलबार सविहानबाटै नेताहरु आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको सिट बाँडफाँटको छलफलमा जुटेका हुन् । करिब एक सातापछि शीर्ष नेताहरूले सिट बाँडफाँटको विषयमा पुनः सहमतिको प्रयासमा लागेको बैठकमा सहभागि एक नेताले बताए । दलहरूले सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाइसकेको र अवको केही दिन सिट विभाजनमा पूर्णरुपमा लाग्ने उनले बताए ।

गठबन्धनको सिट बाँडफाँट नटुङ्गिँदा कांग्रेसलाई समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्न सकस परेको थियो । सोमबार रातिसम्म लगाएर कांग्रेसले बन्दसूची बुझाएको छ । तर, अझै पनि पार्टीभित्रको विवाद भने मिलिसकेको छैन । गठबन्धनमा सिट बाँडफाँटबारे शीर्ष नेताहरूबीच मंगलबार बिहान छलफल भएको नेकपा एकीकृत समाजवादीका नेता प्रमेश हमालले बताए । ‘बिहान शीर्ष नेताहरूबीच छलफल भयोस अब हामी कार्यदलका नेताहरू पुनः छलफलमा जुट्दै छौँ,’ उनले भने, ‘त्यसपछि फेरि शीर्ष नेताहरूसहितको बैठक छ ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बिहानको बैठकमा नेताहरूबीच सामान्य छलफल भएको र अपराह्न ४ बजे पुनः बस्ने गरी उठेको जानकारी दिए । गठबन्धनमा दलहरूबीच करिब एक सय सिटमा सहमति भइसकेको छ भने बाँकी केही सिटमा एकभन्दा बढीको दाबी हुँदा तालमेलको सहमति बन्न सकेको छैन । गठबन्धनमा कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले १५-१५ र राष्ट्रिय जनमोर्चाले २ सिटको आसपास सिट संख्यामा सहमति जुटाएर तालमेलको प्रयास भइरहेको छ ।

गठबन्धन दलले निर्वाचनमा तालमेल गर्ने सहमति गरेर २० साउनमै सिट बाँडफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् ।

त्यस्तै, माओवादी कन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट नेताहरू रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रकाशित: ४ आश्विन २०७९, मंगलवार १२:४४