त्रि-पक्षिय भिडन्तमा मकवानपुर १ मा काँग्रेसकी सहमहामन्त्री डिना पक्ष बलियो


तरुण पत्रिका

४ आश्विन २०७९, मंगलवार १८:०१

हेटौडा । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले आफु प्रत्यक्षमा निर्वाचन लडन् निर्णय गरेपछि मकवानपुर क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि मकवानपुरमा सम्भावित उम्मेदवारहरू जनताको घरदैलोमा जान थालेका छन् । उम्मेदवार नटुंगिए पनि टिकट पाउनेमा ढुक्क भएका नेताहरूघरदैलोमा हिँडिरहेका छन् ।
अहिले घरदैलेमा निकै सक्रिय देखिएका छन् राप्रपा नेपालका अध्यक्ष कमल थापा । उनी मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् ।भने सत्तारुढ गठबन्धनबाट थापासँगै प्रतिस्पर्धामा उत्रिने तयारीमा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना छिन् । डिनाले पनि हेटौंडालाई आधार क्षेत्र बनाएर भेटघाटलाई तीव्रता दिइरहेकी छन् । थापा र डिनाको सक्रियतालाई नियालेर बसेका छन् । केन्द्रीय सदस्य दिपकबहादुर सिंह ।

मकवानपुर–१ मा कमल थापा, महालक्ष्मी उपाध्याय डिना र दिपक सिंहको त्रिपक्षीय भिडन्त हुने सम्भावना छ । यी तीन नेताहरुको लडाईं यसकारण पनि रोचक हुनेवाला छ कि, सबै पटक–पटक संसदीय निर्वाचन हारेकाहरू हुन् । २०४६ मा बहुदलीय व्यवस्थाको स्थापनापछि भएको चारपटकको भिडन्तमा कमल थापा तीन पटक हारे । डिना र सिंहले पनि संसदीय निर्वाचन हालसम्म जित्न सकेका छैनन् ।

एमालेको समर्थनमा थापा, गठबन्धनबाट डिना र राप्रपाबाट सिंह उम्मेदवार बन्ने लगभग पक्का जस्तै छ । थापाले एमालेको साथ पाउने एमाले अध्यक्ष केपी शर्मा ओलीले वचन दिइसकेको चर्चा एमाले मकवानपुरभित्रै छ ।डिनाले समानुपातिकमा आफ्नो नाम समाबेश नगरेर प्रत्यक्ष लडने बिषयमा ढुक्क छन् । थापा र सिहं भन्दा यो पटक काँग्रेस नेता डिना नै बलियो रहेको बताइएको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर सभापतिले निकट मानिने नेता डिनाले टिकट पाउनेमा ढुक्क छन् ।
उता सिंहले विगत एक महिनादेखि आफ्नो निर्वाचन क्षेत्रभित्र पार्टी निर्माणलाई जोड दिइरहेका छन् । राप्रपाले मकवानपुरगढी, बागमती, बकैया गाउँपालिका र हेटौँडा उपमहानगरका अधिकांश वडामा पार्टी विस्तारलाई अभियान नै चलाएको थियो ।
कमल थापाले केही दिनअघि हेटौँडामा भएको एक कार्यक्रममा आफ्नो आगामी निर्वाचन अन्तिम भएको बताएका थिए । उनले अन्तिम निर्वाचनमा जितेर जिल्लाबासीको लागि केही गर्ने अबसर दिलाइदिन मतदातालाई आग्रह नै गरे ।

पञ्चायतकालीन राजनीतिमा आफ्नो प्रभाव जमाएका थापालाई ‘मुसा’ प्रवृतिको नेताका रुपमा चिरण गरिन्छ । २०५१ देखि हालसम्म ९ पटक मन्त्री बनिसकेका छन् उनी । ८ प्रधानमन्त्रीसँग उनले कार्यकाल चलाएका छन् । २०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा पनि उनी थिए । राजतन्त्रदेखि गणतन्त्रसम्म आइसक्दा थापाले सत्ता मोह छोडेका छैनन् । तर, जहिल्यै शक्तिमा बस्न रुचाइरहने थापालाई भने आफ्नै जिल्लाका मतदाताले पाँचपटक उठेकोमा चारपटक हार चखाइदिए ।

चारैपटक एउटै व्यक्ति एमालेका कृष्ण प्रसाद दहालसँग पराजित हुनपुगे । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचन २०४८ मा थापा पराजित बने । त्यतिबेला मकवानपुर–१ मा एमालेका दाहालले थापालाई करिव ५ हजार मतान्तरले हराएका थिए । उनले २०५१ को मध्यावधि निर्वाचनमा भने जिते । २०५६ को आम निर्वाचनमा थापालाई फेरि दाहालले करिब ५ हजार मतान्तरमै हराए ।

राप्रपा अध्यक्ष भएकै बेला कांग्रेसको साथमा २०७४ मा प्रतिनिधिसभा निर्वाचन लडेका थापा पुनः दाहालसँग पराजित भए । त्यतिबेला सत्तापक्षसँग मिलेर पनि चुनाव जित्न नसकेका थापाले आगामी चुनावमा भने प्रमुख प्रतिपक्षी दल एमालेसँग मिल्ने कसरत गरेका छन् । २०६४ को निर्वाचनमा समानुपातिक कोटाबाट संसद प्रवेश गरेकी थिइन् । डिनाले आगामी निर्वाचन जसरी पनि जित्नुपर्नेमा जोड दिँदै आएकी छन् । उता गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट मकवानपुरको राजनीतिमा नेता दिपक सिंहको चर्चा चुलिएको छ । २०५४ सालमै मेयर उठेका सिंहलाई नगरबासीले मात्रै चिन्थे । राप्रपाबाट राजनीति गर्दै आएका उनलाई कम्युनिस्टको गढ मकवानपुरमा राजनीतिक सफलता हासिल गर्न मुस्किलै पर्‍यो । तर, गत स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरको मेयर निर्वाचन लडेका सिंहले अप्रत्याशित मत बटुले । देशभर स्वतन्त्रहरुप्रति मतदाताले देखाएको उदारता सिंहलाई पनि हेटौँडामा मिल्यो । तर, निर्वाचन जित्न भने सकेनन् ।
२०७० सालको निर्वाचनमा पनि नेकपा एमालेका विरोध खतिवडासँग २ हजार २ सय मतान्तरले सिंह पराजित हुन पुगे । सिंह २०६४ र ०७४ सालको संविधानसभा र प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार थिए । संसदीय निर्वाचनमा सफल नभएका सिंहले पुनः गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचन लडेका थिए । तर, नेकपा ९एकीकृत समाजवादी०की मिनाकुमारी लामासँग मेयरमा पराजित भए । सिंह फेरि १ नम्बर क्षेत्रबाट निर्वाचन लड्दै छन् ।

प्रकाशित: ४ आश्विन २०७९, मंगलवार १८:०१