मुलुक संवैधानिक संकटतर्फ जान थाल्याे -डा.काेइराला



काठमाडाैं,५ असाेज । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुक संवैधानिक संकटतर्फ जान थालेको बताएका छन् । एकपछि अर्को गरी भइरहेका घटनाक्रमले देशलाई संकट तर्फ डोर्‍याएको बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पास भइसकेको नागरिकता विधेयकलाई रोकेर मुलुकलाई थप संवैधानिक संकटतर्फ उन्मुख गराएको उनको टिप्पणी छ। ‘नागरिकता जस्तो संवेदनशील विषयमा हामीहरू विभाजित हुनु नै दुःखद हो ।

यसमा अहिले देश नै विभाजित भएको छ, मलाई हामीले नागरिकताको संवेदनशीलताको विषयमा राम्ररी बुझाउन सकेनौँ कि भन्ने लाग्छ,’ नेता कोइरालाले ईकान्तिपुरसँग कुरा गर्दै भने, ‘त्यसमाथि दुवै सदनबाट पास भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगिसकेपछि राष्ट्रपतिजीले त्यसलाई प्रमाणीकरण गर्नुपर्ने थियो । उहाँसँग विधेयकलाई प्रमाणीकरण गर्नुको अर्को विकल्प नै थिएन । तर, त्यसलाई रोक्नु भनेको मुलुकमा संवैधानिक संकट निम्त्याउनु हो ।

यसले देशलाई थप संकटतर्फ लैजान्छ । एकपछि अर्को जटिलताहरू आउन सक्छन् । यो राम्रो संकेत होइन ।’ उनले विगतमा नेकपा एमालेकै सरकारले उही प्रकृतिको विधेयक ल्याएको भन्दै अहिले गठबन्धन सरकारले त्यही विधेयक अघि बढाउँदा एमालेले असहमति राख्ने र राष्ट्रपतिले त्यसलाई अस्वीकार गर्नु गलत भएको बताए ।

प्रकाशित: ५ आश्विन २०७९, बुधबार १०:१०