काठमाडाैं,७ असाेज । नेपाली कांग्रेसको निर्वाचन घोषणापत्रको मस्यौदा दसैंअगावै तयार हुने भएको छ । घोषणापत्र तयारी समितिले दसैंअगावै मस्यौदा तयार गरी कार्यसम्पादन समितिलाई हस्तान्तरण गर्ने महामन्त्री विश्वप्रकाश शर्माले बताए । ‘हामीले घोषणापत्रको मस्यौदा तयारीको काम थालिसकेका छौँ, दसैंअगावै मस्यौदा तयार गरेर कार्यसम्पादन समितिलाई बुझाउँछौं,’ उनले भने ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री शर्मालाई आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयारी समितिको संयोजक तोकेका थिए । शर्मालाई समितिलाई पूर्णता दिएर घोषणापत्र मस्यौदाको काम अगाडि बढाइसकेका छन् ।
घोषणापत्र तयारी समितिमा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहित विभिन्न क्षेत्रका विज्ञहरुको प्रतिनिधित्व छ । घोषणापत्र तयारी समितिका संयोजक एवम् महामन्त्री शर्माले समितिले पूर्णता पाएलगत्तै बैठक बसेर आवश्यक तयारी अघि बढाएको बताए । महामन्त्री शर्माले घोषणापत्र लेखनमा नेपाली समाजको प्रतिनिधित्व झल्किने गरी विज्ञ समूह तयार गरेका छन् । समितिमा कवि श्रवण मुकारुङदेखि क्रिकेटर विनोद दाससम्म समेटिएका छन् ।
समितिमा चलचित्र निर्देशक मीन भाम, कृषि विज्ञ सन्जय महत्तो, समाजशास्त्री दिपेश घिमिरे, मधेशी महिलाको प्रतिनिधित्व गर्दै प्रिति मण्डल, कर्णालीको प्रतिनिधित्व गर्दै रंगमति शाही, फष्ट टाइम भोटरको प्रतिनिधित्व गर्दै विकल राई, सामाजिक रुपान्तरणको मुद्धाको प्रतिनिधित्व गर्दै अनुसन्धानकर्ता प्रकाश लामिछाने समेत सदस्य छन् ।
त्यस्तै, अपांगता भएकाहरुको प्रतिनिधित्व गर्दै भोजराज श्रेष्ठ, अल्पसंख्यक मुद्दामाथि विद्यावारिधि गरेका विश्वविभु घिमिरे, स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व गर्दै अञ्जनी झा, इन्जिनियर एसोसिएसनका अध्यक्ष हरि दर्लामीमगर, माइती नेपालकी प्रमुख अनुराधा कोइराला र अर्थशास्त्री स्वर्णिम वाग्ले समेत अटाएका छन् ।
समितिको पहिलो बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको थियो । बैठकले छोटो समयमा व्यापक छलफलका साथ ‘निरन्तरतामा नविनता’ को दृष्टिलाई केन्द्रमा राखेर घोषणापत्र निर्माण गर्ने निर्णय गरेको छ । बैठकले प्रारम्भिक मस्यौदा तयारीका लागि अर्थशास्त्री स्वर्णिम वाग्ले नेतृत्वको छ सदस्यीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरेको छ । समितिमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, कृष्ष्णप्रसाद पौडेल, दिपेश घिमिरे र प्रिति मण्डल सदस्य छन् ।
महामन्त्री शर्माले घोषणापत्र तयारीका क्रममा पार्टीका विगतका दस्तावेज र प्रतिबवद्धताहरूलाई समेत स्थान दिइने बताए । त्यहीअनुसार बैठकले कांग्रेस स्थापनाकालमा बीपी कोइरालाले लेखेका दस्तावेजदेखि अहिलेसम्मका सबै दस्तावेज र घोषणापत्रहरु अध्ययन गरेर त्यसको भावनात्मक सार ग्रहण गर्न तीन सदस्यीय अध्ययन र विश्लेषण उपसमिति गठन गरेको छ । सहमहामन्त्री जीवन परियार संयोजकत्वको सो उपसमितिमा मदन कट्टेल र शंकर तिवारी सदस्य छन् । घोषणापत्र तयारीका लागि अन्य विभिन्न उपसमितिहरु समेत गठन भएका छन् ।
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार १७:१७