काठमाडाैं,९ असाेज । नेपाली कांग्रेसभित्र एकाधिकारबाद झाँगिदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरुलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लाीन रहेपछि पार्टीभित्र संकट उत्पन्न भएको छ । संस्थापन इतर समुहका नेता डा शेखर कोइराला समूहले आगामी चुनावमा सम्मानजन उपस्थिति खोजेको छ । पार्टीभित्र न्याय र समानताका लागि भन्दै संघर्षका कार्यक्रम तय गरेको कोइराला समुहलाई चित्त बुझाउनतिर ध्यान नदिएर गठबनधनका नाममा प्रचण्ड माधव नेपाल सँग घाटि जोडेका देउवाले समानुपातिक सूचिमा आफन्त नातेदार देखि व्यापारीहरु समेतलाई राखेका छन् ।
लामोसमय पार्टीमा लागेर संघर्ष गरेका नेताहरुलाई पाखा लगाइएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । कोइराला समुहले ४० प्रतिशत सिट नपाए विद्रोह गर्ने चेतावनी दिइरहेका बेला सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेताहरूलाई समानुपातिकको बन्दसूचीमा राखेको पाइएको छ । निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका छन् ।
बन्दसूचीमा सभापति देउवानिकट नेतामात्रै होइन व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई पनि राखिएको छ । बन्दसूचीको ७ नम्बरमा व्यापारी अनिल रुँगटाको नाम छ भने नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा। सुरेशकुमार कनोडियाको पनि नाम सूचीमा रहेको छ । त्यस्तै ठगी मुद्दामा मुछिएका अर्का मेडिकल कलेज सञ्चालक खुमाप्रसाद अर्याललाई पनि कांग्रेसले समानुपातिकको बन्दसूचीमा राखेको छ । अर्याल गण्डकी मेडिकल कलेजका सञ्चालक हुन् । उनीविरुद्ध ३ वर्षअघि ठगी मुद्दामा अदालतले पक्राउ पुर्जीसमेत जारी गरेको थियो । पछि उनी सुटुक्क अदालतमा उपस्थित भएर १७ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
त्यस्तै पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि बन्दसूचीमा रहेको छ भने वर्तमान सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकबाटै चुनाव लड्ने भएका छन् । त्यसैगरी पूर्वराष्ट्रपति डा। रामबरण यादवका छोरा डा। चन्द्रमोहन यादवको नाम पनि बन्दसूचीमा रहेको छ । उनी गत महाधिवेशनमा मधेसी कोटामा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी शेखरसमूहनिकट नै मानिन्छ । त्यसैगरी कांग्रेस प्रवक्ता प्रकाशशरण महत र पूर्वमन्त्री रोमी गौचन थकाली पनि समानुपातिक सूचीमा रहेका छन् ।
त्यस्तै प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारलाई पनि समानुपातिक सूचीमा राखिएको छ । त्यस्तै नेता अर्जुननरसिंह केसीका भाइसमेत रहेका डा। केदारनरसिंह केसी, देउवानिकट केन्द्रीय सदस्य अब्दुल सतारको नाम पनि बन्दसूचीमा रहेको छ । त्यस्तै लेखा समितिका पूर्वसभापतिसमेत रहेका भरत शाहकी पत्नी अनिता ढुंगाना शाहको नाम पनि बन्दसूचीमा राखिएको छ ।
शेखर समूहले प्रत्यक्षतर्फको मात्रै नभई असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची पनि सच्याउनुपर्ने माग गरेका छन् । निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समयसीमामा संस्थापनइतर समूहबाट ४० प्रतिशतको हाराहारीमा उम्मेदवार राखिनुपर्ने माग छ । आफूहरूले न्यायोचित सिट नपाए शेखर समूहले अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको चेतावनीसमेत दिएको छ ।
शेखर र महामन्त्री गगन थापाले गठबन्धनमा प्रत्यक्षतर्फ कांग्रेसले सय सिट लिनुपर्ने अडान सुरुदेखि राख्दै आएका छन् । शेखर यो अडानबाट अहिले पनि पछि हटेका छैनन् तर थापाले कांग्रेसले ९० भन्दा तल झेरेर सम्झौता नगर्न नेतृत्वलाई दबाब दिएका थिए । गठबन्धनमा आबद्ध माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी कांग्रेसलाई ५० प्रतिशतभन्दा बढी सिट दिन तयार नभएपछि देउवाले त्यसैमा सहमति जनाउन सक्ने संकेत दिएकाले थापा बैठकमा अनुपस्थित हुन थालेका हुन् ।
प्रकाशित: ९ आश्विन २०७९, आईतवार ११:४३