सांस्कृतिक अनभिज्ञताको प्रतीक इन्द्रजात्रा



स्थानीय नेवार समाजमा ‘यँया:’ नामबाट चिनिएको साँस्कृतिक पर्व इन्द्रजात्राले राज्य स्तरबाट ठूलै मान्यता पाएको छ। यो पर्व एक दिनमा सीमित छैन। यस पर्वका अवसरमा निकालिने जीवित देवी कुमारीको रथयात्राको एक झलकलाई नै इन्द्रजात्राको रूपमा बुझ्ने र बुझाउने ‘अचम्म लाग्दो अर्को जात्रा’ पनि देख्न पाइन्छ। यो ‘अचम्म लाग्दो अर्को जात्रा’ अनावश्यक त हो नै तर यसैलाई आवश्यक कुराको रूपमा लिइनु सांस्कृतिक ज्ञान नहुनु हो। अझ भनौं, ‘जसको बिहे उसैलाई हेर्न नदे’ भनेजस्तो क्रियाकलाप यति बेला हुन्छ।
यँया: नेवार समाजमा प्रचलित एक भव्य र रमाइलो पर्व हो। यस अवसरमा अनेक खालका सांस्कृतिक गतिविधिहरू बडो हर्षोउल्लासका साथ सम्पन्न हुन्छन्। एक समय धार्मिक तथा सांस्कृतिक नाचगान मात्र नभएर डबलीमा नाटकहरूको पनि प्रदर्शन हुने गर्दथ्यो।
साहित्यमा नाट्य विधाको विकास मल्लकालमा नै प्रशस्त मात्रामा भइसकेको दृष्टान्त काठमाडौं उपत्यकाका तीन वटै मल्ल राज्यका राजाहरू स्वयं नाटक लेख्ने कार्यमा सरिक रहेबाट स्पष्ट हुन्छ। कतिपय राजाहरू नाटक लेख्नुका साथै नाटकको प्रदर्शनीमा स्वयं नाट्य चरित्रका रूपमा अभिनय पनि गर्दथे। राजाहरू नै नाट्यप्रेमी बनेपछि सर्वसाधारण जनता पनि यस क्षेत्रमा हौसिनु स्वाभाविक थियो।
काठमाडौं उपत्यकाका विभिन्न टोलमा बनाइएका डबलीहरू यही नाटक प्रदर्शनको प्रयोजनका लागि हुन्। त्यो परम्परामा हिजोआज ह्रास आउनु बेग्लै कुरा हो। यँया: वा इन्द्रजात्राका अवसरमा विभिन्न ठाउँहरूमा यस्ता अनेकौं कला संगीतको पनि प्रदर्शन भइराख्ने हुँदा जो कोही पनि घुम्न निस्कन्थ्यो। समाजमा ठूलै मानमर्यादा र स्थान पाएकी जीवित देवी कुमारी मात्र घरमा थन्किएर बस्ने कुरा भएन, कुमारी पनि यँया: पर्वको अवलोकन गर्न रथमा चढी निस्कनु नै कुमारी रथयात्रा हो। यो कुरा नबुझेर राष्ट्रप्रमुख, उच्च निकायका पदाधिकारी तथा विदेशी पाहुनाहरूलाई तामझामसहित आमन्त्रण गरी गद्दी बैठकमा राखी कुमारी घरबाट कुमारीलाई निकालेर रथ चढाइ लगेको एउटा दृष्य मात्रै देखाएर फर्काउने गरेको पाइन्छ।
कुमारी रथयात्रा पनि आकर्षणको विषय हो। हिजोआज यसैलाई आकर्षणको केन्द्रबिन्दु बनाउन थालेको पाइन्छ। कुमारीलाई कुमारी घरबाट निकालिनु भन्दा घण्टौं अगाडिदेखि बाटो रोक्ने, हिँडडुल नै गर्न नदिने, सुरक्षाको नाममा सर्वसाधारणलाई दु:ख दिने गरिन्छ। कुमारीको रथजात्रा सुरु गर्ने बेला राष्ट्रप्रमुख तथा उच्च पदाधिकारी एवं विदेशी नियोगका पदाधिकारीहरू आइपुग्ने बेलासम्ममा त सर्वसाधारणलाई सीमित क्षेत्रमा बाहेक अन्यत्र राखिन्न र कतिपय सर्वसाधारणले त सुरक्षाकर्मीको दुव्र्यवहार खेप्नुका साथै पिटाइ पनि खानुपर्ने हुन्छ।
यँया: वा इन्द्रजात्रामा हेर्न पाइने ‘अचम्म लाग्दो अर्को जात्रा’ धेरै पुरानो भने कदापि होइन। राजा पृथ्वीनारायण शाहदेखि पृथ्वीवीरविक्रम शाहसम्मको निवास स्थल हनुमानढोका दरबारमा नै थियो। शाह राजाहरूलाई दरबारमै सीमित गरी वास्तविक शासक बन्न आएका जंगबहादुर राणा तथा उनका उत्तराधिकारी तथा तिनका परिवारहरू काठमाडौंका विभिन्न ठाउँमा छरिएर बस्दथे। इन्द्रजात्रा हेर्न भनेर तिनीहरू बडो तामझामका साथ औपचारिक पोशाकमा आउँथे। राणाहरूलाई आफ्नो शानशौकत देखाउने अवसर यही हुन्थ्यो। पछि गद्दीनशीन राजा हनुमानढोकाबाट नारायणहिटी दरबारमा पसेपछि उनीहरूको पनि हनुमानढोकामा तामझामसहित सवारी चलाइन्थो। राणा शासनको अन्त्य भइसकेपछि पनि शानशौकत सहितको सवारीलाई शाह राजाहरूले अन्तिम समयसम्म कायम नै राखे। कुनै बेला थियो, इन्द्रजात्रा हेर्न भनेर गद्दीनसिन राजा गद्दीबैठकमा आइपुग्ने कहिले कहिले विहानैदेखि गद्दीबैठक वरिपरिका निजी घरहरूमा सुरक्षाकर्मी बस्न आइसकेको हुन्थ्यो। स्थानीय जनताले आफ्नै घरको कौसी वा झ्यालमा बसेर जात्रा हेर्न पाउँदैनथे। यस दिन स्थानीय जनता घरभित्रै थुनिन्थ्यो वा जात्रा हेर्नका लागि बाहिर जानु पर्दथ्यो। गणतन्त्र स्थापना भइसक्दा पनि गद्दीबैठकमा बसेर जात्रा हेर्न पाउनेहरूको शानशौकत उही छ तर स्थानीय निजीघरहरू भने सुरक्षाकर्मीहरूको कब्जामा हुन छाड्यो।

संस्कृति भनेको सर्वसाधारणसँग सम्बन्धित हो। ‘जसको बिहे उसैलाई देख्न नदे’ भन्ने खालको नीति अपनाउनु हुँदैन। राष्ट्रप्रमुख, उच्च पदाधिकारी तथा विदेशी पाहुनाहरू जात्रा हेर्न आएका मात्रै हुन्, जात्राको विषयवस्तु नै उनीहरू होइनन्। जात्रालाई नै ओझेलमा पार्ने गरी राष्ट्रप्रमुख लगायतलाई प्रमुखता दिनु र त्यस्तो व्यवहार गरिनु हुँदैन। पाहुना भएको नाताले केही विशेष सुविधा दिनु त पर्छ तर अनावश्यक सुविधा वा उत्ताउलोपना इन्द्रजात्रामा देखिने ‘अचम्म लाग्दो अर्को जात्रा’ बनाउनु भने हुँदैन।

यँया: (इन्द्रजात्रा) मा संस्कृतिका अनेक पक्षहरूमा एउटा कुमारी रथयात्रा कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लको देन हो। त्यसअघि कुमारीको रथयात्रा हुँदैनथ्यो। रथयात्राको थालनी गरेको केही वर्षपछि नै कान्तिपुर राज्यमाथि गोरखाली सेनाको आक्रमण भएको थियो। कान्तिपुरमाथिको आक्रमण कुमारीको रथयात्रा चलिरहेकै बेला भएको थियो। गोरखाली सेनाको आक्रमण हुने संभावनाबाट राजा जयप्रकाश मल्ल बेखबर थिएनन् तर जात्राकै दिन एक्कासी आक्रमण होला भन्ने अनुमान संभवत: उनले गरेका थिएनन्। गोरखाली सेनाले एक्कासी आक्रमण गर्दा कुमारीको रथयात्रा सुरु भएर जैसीदेवल टोलमा मात्रै पुगेको थियो। त्यस बेला राजा स्वयं कुमारीको रथ चढेर सर्वसाधारणजस्तै जात्रामा सरिक भइरहेका थिए। गोरखाली सेना हनुमान दरबारमा पसिसकेको खबर पाएर उनी बीचबाटै फर्केर आई केही बेर शत्रु फौजसँग प्रत्याक्रमण गरेर बसेका थिए तर स्थिति आफू अनुकुल नभएको आंकलन गरी तलेजु लगायतका कतिपय क्षेत्रमा शत्रुका विरुद्ध बारुद बिछ्याएर आफू सुरक्षाका लागि पाटन लागेका थिए। यसको अर्थ हो, आजभोलि राष्ट्र प्रमुख गद्दीबैठकमा उभिएर जात्राको अवलोकन गर्न हिँडेका कुमारीको मात्र दर्शन गर्दथे भने उहिले स्वयं राष्ट्रप्रमुख कुमारीको रथमा सर्वसाधारणजस्तै चढेर जनतासँग भिज्दथे र जात्रामा सरिक हुन्थे।
यस्तो लाग्छ, यँया: (इन्द्रजात्रा) लाई आजभोलिका राजनैतिक व्यक्तित्वहरूले सांस्कृतिक पर्वका रूपमा आत्मसात गर्न सकेकै छैनन्। एक छिन आएर कुमारीको रथयात्रा हेरेकै भरमा इन्द्रजात्रा हेरें भन्नु जतिको बेतुकको कुरा अरु के होला र ? विदेशी कूटनीतिक नियोगका पाहुनाहरूलाई पनि बोलाएर आफूजस्तै त्यही एउटा छोटो दृश्य देखाएर खुरुक्क फर्काउनु हदैसम्मको सांस्कृतिक अनभिज्ञता हो। यसलाई ‘अचम्म लाग्दो अर्को जात्रा’ भनेर टिप्पणी गर्नुको विकल्प छैन।
इन्द्रजात्राजस्तो सांस्कृतिक पर्वलाई केही वर्षअघि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले पूर्ण रूपमा राजनीतिक खेल मैदानमा रूपान्तरण गरिदिएको अर्को उदाहरण हो। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको तेजोबध गर्ने एउटै मात्र एजेण्डा बोकेर यो पार्टी हिँडेको थियो र प्रधानमन्त्री जहाँजहाँ जान्थे त्यहाँ विरोध प्रदर्शन गरिहाल्थे। इन्द्रजात्राको अवसरमा प्रधानमन्त्री गद्दीबैठकमा आउने निश्चित थियो र त्यसमा अवरोध गर्ने तथा विरोध प्रदर्शन गर्ने मनसायले पार्टी नेताहरूले आफ्ना कार्यकर्ताहरूलाई परिचालित गर्‍यो। यस बेला हनुमानढोका क्षेत्र मात्रै नभएर त्यस वरिपरिका अन्य क्षेत्रहरूमा पनि सुरक्षाकर्मी र माओवादी कार्यकर्ताबीच ठूलै झडप भयो। इन्द्रजात्रा एक प्रकारले राजनीतिक रणमैदानमा परिणत भयो। वास्तवमा यसबाट राजनीतिक दलको बेबकुफी भन्न सकिन्छ र एउटा सांस्कृतिक पर्वलाई भाँड्ने काममा सरिक भएको भन्न सकिन्छ तर उसको बुझाइ राजनीतिक क्रियाकलाप मात्रै थियो। अर्थात् उसले इन्द्रजात्रालाई सांस्कृतिक पर्वको रूपमा लिन सकेन वा जान्दै जानेन। नेकपा माओवादीको यो राजनीतिक युद्ध पनि एक खालको ‘अचम्म लाग्दो अर्को जात्रा’ हो।
यँया: (इन्द्रजात्रा) लाई सांस्कृतिक पर्वकै रूपमा अगाडि बढाउनु पर्दछ। संस्कृति भनेको सर्वसाधारणसँग सम्बन्धित हुन्छ। ‘जसको बिहे उसैलाई देख्न नदे’ भन्ने खालको नीति अपनाउनु हुँदैन। राष्ट्रप्रमुख, उच्च पदाधिकारी तथा विदेशी पाहुनाहरू जात्रा हेर्न आएका मात्रै हुन्, जात्राको विषयवस्तु नै उनीहरू होइनन्। जात्रालाई नै ओझेलमा पार्ने गरी राष्ट्रप्रमुख लगायतलाई प्रमुखता दिनु र त्यस्तो व्यवहार गरिनु हुँदैन। पाहुना भएको नाताले केही विशेष सुविधा दिनु त पर्छ तर अनावश्यक सुविधा वा उत्ताउलोपना इन्द्रजात्रामा देखिने ‘अचम्म लाग्दो अर्को जात्रा’ बनाउनु भने हुँदैन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाशित: ३० भाद्र २०७९, बिहीबार १५:२४