लियोनेल मेस्सीले बुधबार च्याम्पियन्स लिगमा दुई कीर्तिमान राखेका छन्। बुधबार पीएसजीको लागि एक गोल गरेका मेस्सीले च्याम्पियन्स लिगमा सबैभन्दा धेरै क्लबविरुद्ध गोल गर्ने कीर्तिमान कायम गरेका छन्। उनले आफ्ना प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो कीर्तिमान कायम गरेका छन्। च्याम्पियन्स लिगमा मेस्सीले ३९ क्लबविरुद्ध गोल गरेका छन्। रोनाल्डोले ३८ क्लबविरुद्ध गोल गरेका छन्। मेस्सीले च्याम्पियन्स लिगमा आफूले खेलेका सबै १९ मुलुकको क्लबविरुद्ध गोल गरेका छन्।
त्यस्तै मेस्सीले च्याम्पियन्स लिगको लगातार १८ औं सिजनमा गोल गर्ने अर्को कीर्तिमान पनि कायम गरेका छन्। उनले सन् २००५र०६ मा बार्सिलोनाको लागि च्याम्पियन्स लिगमा पहिलो गोल गरेका थिए। त्यसयता उनले निरन्तर च्याम्पियन्स लिगमा गोल गर्दै आएका छन्। यद्यपि समग्रमा च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान भने रोनाल्डोको नाममा छ । उनले यो प्रतियोगितामा १४० गोल गरेका छन्। मेस्सीले भने अहिलेसम्म १२६ गोल मात्र गरेका छन्। उनी रोनाल्डोभन्दा १४ गोलले पछि छन्।
प्रकाशित: ३० भाद्र २०७९, बिहीबार १५:४७