काठमाडौ । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदासम्म पनि सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन ।
जसपाका अध्यक्ष उपेन्द्र यादव बालुवाटार बैठकको बीचैमा निस्किएपछि सत्ता गठबन्धनको बैठक भाँडियो । पाँच दलीय गठबन्धन मध्ये नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सहमति नजिक पुग्दा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका कारण बिहिवार पनि सहमति हुन नसकेको हो ।
जसपाका अध्यक्ष उपेन्द्र यादव बालुवाटार बैठकको बीचैमा निस्किएपछि उनले बालुवाटारको बैठकमा जसपा नेता राजेन्द्र श्रेष्ठ र मनिस सुमनलाई राखेर आफू बालकोट निस्किएका थिए । स्रोतका अनुसार २५ सिटको अडानमा अडिएको जसपालाई गठबन्धनको तर्फबाट १६ सिट भन्दामाथि दिन नसकिने बताएपछि एमालेसँग तालमेल गर्न यादव बालकोट पुगेका हुन् ।
यता सत्ता गठबन्धनको एक घटक नै नभएपछि आजको बैठकमा कुनै सहमति हुन नसकेको गठबन्धनका एक नेताले जानकारी दिए । ‘अझै मिल्न केही कुरा बाँकी थिए तर, जसपाको विरोधपछि ती कुरामाथि पनि छलफल भएन’ उनले भने, ‘बाँकी कुरा भोलि हुन्छ होला ।’ भोलि बिहान फेरि बस्ने गरि आजलाई बैठक बिना निष्कर्ष स्थगित भएको ती नेताले जानकारी दिए ।
अहिलेसम्म नेपाली कांग्रेसले ८५ माओवादी केन्द्रले ४४ नेकपा एकीकृत समाजवादीको १५, जसपाको १६ र जनमोर्चाले २ क्षेत्र पाउनेमा छलफल भइरहेको थियो । तर, जसपाले आफूले २५ सिटको केही तल माथि भएपनि २० भन्दा नघट्ने अडान राखेपछि सहमति हुन नसकेको हो ।
एमाले र जसपाको सहमति
एमाले नेता रघुवीर महासेठको काठमाडौंस्थित निवासमा जसपाको तर्फबाट उपेन्द्र यादवसहितका नेताहरू र एमालेको शीर्ष नेताहरूबीच चुनावी तालमेलको सहमति भएको छ ।
धनुषा २, बारा २, ३ बाँके २ र रुपन्देही ४ लगायतको केही क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने गरि सहमतिको मस्यौदा तयार भएको एक नेताले बताए । जसपाले २५ क्षेत्र माग गरेको थियो । तर, केही क्षेत्रमा दोहोरो दाबी भएपछि जसपाले दाबी घटाएको हो ।
प्रकाशित: २१ आश्विन २०७९, शुक्रबार ०६:४३