यी क्षेत्रमा बाढी जोखिम सहित शुक्रबार पनि दिनभर वर्षा हुने



काठमाडौ । देशका विभिन्न भागमा आज शुक्रबार पनि वर्षा भइरहेको छ। पछिल्ला चार दिनदेखि वर्षा जारी छ। आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी तथा गण्डकी प्रदेशका एकदुई स्थानमा भारी देखी धेरै भारी वर्षाको सम्भावना रहेको छ।
हाल नेपालमा मध्यपश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण मनसुनी प्रणाली सक्रिय छ।

यी क्षेत्रमा बाढीको जोखिम
केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण बाढी(पहिरोको जोखिम हुने क्षेत्रमा मानिसलाई सुरक्षित र सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी(पहिरो गइरहेको भन्दै सबैलाई सुरक्षित र सतर्क हुन आग्रह गरेको हो।

शुक्रबार बिहान ४ बजे गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास केही स्थानमा भारी वर्षा भएको र थप हुने भन्दै केन्द्रले उक्त जिल्लाका साना खोलामा आकस्मिक बाढी आउनुका साथै पहिरो जान सक्ने भउकाले दिउँसोसम्म सतर्क रहन आग्रह गरेको छ। त्यस्तै बिहान साढे ४ बजे भेरी जलाधारका विभिन्न स्थानमा भारी वर्षा भई जलसतह सतर्कतारखतरा तह आसपास पुगेको केन्द्रले जनाएको छ। भेरी जलाधार पर्ने क्षेत्रमा थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म अर्को ६ घण्टासम्म उच्च सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ।

यसैगरी बिहान ५ बजे पछिल्लो ३ घण्टा कञ्चनपुर, कैलालीको धेरै स्थानमा भारी वर्षा भएको र थप हुने, खुटीया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत क्षेत्रका साना खोलाहरूमा एक्कासी बाढी आउन सक्ने भएकाले होचा डुबान हुने स्थानमा दिउँसो १२ बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ।

प्रकाशित: २१ आश्विन २०७९, शुक्रबार ०७:२८