उदयपुर–१ मा नारायण खड्का र मञ्जु चौधरी पाँच वर्षपछि फेरि मैदानमा



उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मा यसपालि पनि कांग्रेसका नारायण खड्का र एमालेकी मञ्जुकुमारी चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ । २०७४ सालको चुनावमा वाम गठबन्धनबाट उम्मेदवार बनेकी चौधरी कांग्रेसका खड्कासित ५ सय ४८ मतको अन्तरले पराजित भएकी थिइन् । खड्का ३३ हजार १ सय ४२ मतसहित विजयी हुँदा चौधरी ३२ हजार ५ सय ९४ भोटका साथ दोस्रो भएकी थिइन् । आउँदो ४ मंसिरको चुनावमा खड्का सत्ता गठबन्धनका साझा उम्मेदवार हुनेछन् ।

चौधरीलाई जनता समाजवादी पार्टीको साथ मिल्ने सम्भावना छ । कांग्रेसका खड्काले यो क्षेत्रबाट तीन पल्ट लगातार चुनाव जितेका छन् । सोही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालका गोपाल राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका धुर्वकुमार रायमाझी, नेपाल मजदुर किसान पार्टीका विष्णुबहादुर खत्री, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका खुसीलाल ठाकुर जनता प्रगतिशिल पार्टी, नेपालका मुकेश सहनी, नागरिक उन्मुक्ति पार्टीका कृतनारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपाल ललकु चौधरी, नेकपा मालेका रामप्रसाद चौलागाई, मंगोल नेशनल अर्गनाइजेसनका केशरबहादुर मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कम्पसबहादुर राई, राष्ट्रिय जनमुक्ति पार्टीका गोकर्ण राई, सचेत नेपाली पार्टीका हरिबहादुर बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारी र स्वतन्त्रका राम श्रेष्ठ चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी क्षेत्र नम्बर २ मा एमालेका अम्बरबहादुर रायामाझीले उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टी, नेपालका सिद्धान्त राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका वंशीधर न्यौपाने, नेपाल मजदुर किसान पार्टीका पूर्णबहादुर बुढाथोकी, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का जगन्नाथ खतिवडा, हाम्रो नेपाली पार्टीका लोकेन्द्रबहादुर कार्की, मंगोल नेशनल अर्गनाइजेसनका भाष्कर राई, नेपाली कांग्रेस ९बीपी० का केशवबहादुर पाण्डे, जनजागरण पार्टी नेपालका विन्दाकुमारी कटुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अनिलकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । यसैगरी रामकुमार राई र राममणि पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

प्रकाशित: २७ आश्विन २०७९, बिहीबार १४:२७