दशकपछि मन्त्री बडू र पूर्वमन्त्री ठगुन्ना तेस्रो पटक आमने–सामने



दार्चुला । दार्चुलामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र पूर्वमन्त्री गणेश ठगुन्ना आसन्न प्रतिनिधि सभा चुनावमा आमनेसामने हुँदैछन्। करिब एक दशक ९२०७ को चुनाव पछि बडू र ठगुन्ना दार्चुलामा यसपटक तेस्रोपटक प्रतिस्पर्धाका लागि चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका मन्त्री बडूलाई माओवादी केन्द्रको समर्थन छ। ठगुन्ना सत्ता गठबन्धन विरुद्ध एमालेबाट एक्लै चुनावी मैदानमा छन्।

२०६४ सालको पहिलो संविधान सभा चुनावमा पहिलो पटक बडू र ठगुन्ना एक अर्काका प्रतिस्पर्धी बनेका थिए। त्यस बेला दार्चुलामा माओवादीका लक्ष्मदत्त जोशी विजयी भएका थिए। एमालेका ठगुन्ना दोस्रो र कांग्रेसका बडू तेस्रो स्थानमा थिए। ०७० सालको दोस्रो संविधान सभामा बडूलाई पराजित गर्दै ठगुन्नाले पहिलो पटक संसद यात्रा तय गरेका थिए। त्यस पछि अहिले फेरी उनै ठगुन्ना र बडूबीच दार्चुलामा कडा प्रतिस्पर्धा हुँदैछ।

दार्चुलामा सत्तारुढ गठबन्धनका तर्फ प्रदेश सभा (१) मा कांग्रेसका विक्रमसिंह धामी र प्रदेश सभा (२)मा माओवादी केन्द्रका नेता समेत रहेका सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी (सन्तोष) उम्मेदवार छन्।

यस्तै, नेकपा एमालेबाट प्रदेश सभा (१) मा हरदेव जोशी र प्रदेश सभा (२)मा रामदत्त जोशी उम्मेदवार छन्।

२०४८ कोे आम निर्वाचनमा नेपाली कांग्रेसबाट दार्चुला १ मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू विजयी भएका थिए। अर्को क्षेत्रबाट राप्रपाका अकबरबहादुर सिंह सांसद बनेका थिए। ०५१ सालको चुनावमा कांग्रेसले दार्चुलामा वर्चस्व गुमायो। ०४८ सालमा चुनाव जितेका कांग्रेसका बडू ०५१ मा एमालेका नेता प्रेमसिंह धामीसँग हारेका थिए। ०५६ को चुनावमा भने दार्चुलामा कांग्रेसले फेरि झण्डा फहरायो। एमालेका वीरबहादुर ठगुन्नालाई हराउँदै कांग्रेसका बडूले चुनाव जिते। त्यसयता दार्चुलामा कांग्रेसले संसदीय चुनाव जित्न सकेको छैन।तत्कालिन सभापति गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालाका बिश्वास पात्र मानिने बडूले शानित प्रकृया र संबिधान निमार्ण महत्वपुर्ण भुमिका खेलेका थिए । ०५६ पछि दार्चुलामा कम्युनिस्ट पार्टीको संगठित रुपमा बडु बिरुद्ध एक भए । ०६४ को पहिलो संविधान सभा चुनाव नेकपा माओवादी केन्द्रका लक्ष्मणदत्त जोशीले जिताकाथिए।

दार्चुलामा ०७० को दोस्रो संविधान सभा निर्वाचन र ०७४ सालको चुनाव पनि कांग्रेसले आफ्नो गुमाएको साख फिर्ता गर्न सकेन । केन्द्रिय तहमा देखिएको काँग्रेसको गुठउपगुटको प्रभाव र्दाचुलामा पनि पर्यो । जस्का कारण ०७० मा कांग्रेसका बडूलाई उछिन्दै एमालेका ठगुन्ना विजयी भएका थिए। ०७४ सालमा पनि ठगुन्नाले माओवादी केन्द्रको समर्थनमा वाम गठबन्धनको साझा उम्मेदवार बनेर संसद पस्ने मौका पाए। ठगुन्नाले त्यसबेला २८ हजार ९९८ मत ल्याएका थिए भने कांग्रेसका विक्रमसिंह धामीले २२ हजार २३३ मत ल्याएका थिए।

०७४ को प्रदेश सभा चुनावमा पनि वाम गठबन्धनकै उम्मेदवारले बाजी मारेका थिए।दार्चुलामा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट ०५६ पछि जित हासिल गर्न नसकेको नेपाली कांग्रेस दुई दशक पुरानो विरासत फर्काउने दाउमा छ। नेकपा एमाले भने कम्युनिस्टको किल्ला यथावत् राखेर जितलाई निरन्तरता दिने रणनीतिका साथ चुनावी मैदान उत्रिएको छ।

दार्चुला कांग्रेसको राजनीति वर्षौंदेखि आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको वरिपरि घुमिरहेको छ। उनी पार्टीभित्र संस्थापन इतर डा शेखर कोइराला निकट मानिन्छन्।

०४८ देखि ०७० सम्म दार्चुलाबाट पाँचपटक प्रत्यक्षतर्फ संसदीय चुनाव लडेका बडूले ०४८ र ०५६ मा गरेर दुईपटक मात्रै जितेका छन्। उनले हारमा ‘ह्याट्रिक’ नै गरेका छन्। ०५१ सालको चुनावमा पहिलोपटक हार बेहोरेका बडूले ०६४ र ०७० को चुनाव पनि गुमाए।

०७४ सालको चुनावमा परिस्थिति प्रतिकूल देखेपछि बडू समानुपातिकतर्फ लागेका थिए। त्यसबेला कांग्रेस नेता विक्रम धामीलाई प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनाव लडाइएको थियो। यसपटक बडू सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेर चुनावमा होमिएका छन्।बडूको उमेद्धवारीलाई

‘कांग्रेसले पुराना नेताहरुले सकरात्मकरुप लिएका छन् भने अहिले माओवादी केन्द्रको पनि समर्थन छत्यसैले मन्त्री बडुको जित हुने दावी गरेका छन् । बडू लामो समयदेखि जिल्लाको विकासमा लाग्नु र गठबन्धनको जित सुनिश्चित जस्तै छ ।

‘स्थानीय तह निर्वाचनको मतपरिणामका आधारमा दार्चुलामा गठबन्धनविरुद्ध नेकपा एमाले बलियो देखिएको छ। गठबन्धन विरुद्ध एक्लै चुनावमा होमिएको एमालेले स्थानीय तह चुनावमा दार्चुलामा ‘अद्धभुत’ नतिजा ल्याएको छ।

९ पालिकामध्ये एमालेले शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मालिकार्जुन, दुहुँ र व्यास गाउँपालिका गरेर ५ पालिकाको प्रमुखमा बाजी मारेको छ।अन्य ४ पालिका अपिहिमाल, लेकम, नौगाड र मार्मा गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ। नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा कुनै पनि पालिका प्रमुख पद जित्न सकेन।

यस्तै ९ पालिकाका कूल ६१ वडामध्ये ३४ वटामा एमालेले जितेको छ। गठबन्धनमा आबद्ध कांग्रेसले १७ र माओवादी केन्द्रले १० वटा वडामा जितेका छन्। सत्ता गठबन्धनले जितेको कूल वडा संख्या २७ छ। जुन एमालेको भन्दा कम हो।

स्थानीय तहको मतपरिणाम हेर्दा अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सत्ता गठबन्धन र एमालेबीच दार्चुलामा कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ।स्थानीय तहको निर्वाचन मतपरिणामअनुसार एमालेको वडागत मत २९ हजार ३९७ छ। यस्तै कांग्रेसको २१ हजार ५५४ हुँदा माओवादी केन्द्रको ७ हजार ८८१ छ। अन्य राजनीतिक दलको उपस्थिति भने कमजोर छ।

प्रकाशित: २९ आश्विन २०७९, शनिबार १३:२८