काठमाडौ । काठमाडौँ क्षेत्र नम्बर १० मा सत्ता गठबन्धनबाट कांग्रेसका राजन केसी र एमालेका हिमेश केसी प्रतिस्पर्धामा छन्। यसअघि दुई पटक त्यसै क्षेत्रबाट चुनाव जितेर मन्त्रीसमेत भइसकेका राजन तेस्रो कार्यकालका लागि पुनः चुनावी मैदानमा उत्रेका छन् । २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका केसी २०७४ मा कांग्रेसले देशभरबाट प्रत्यक्षतर्फ २३ सिट मात्रै जित्दा पनि त्यसभित्र पर्न सफल भए।
२०७४ मा युवा तथा खेलकुद मन्त्री भएका केसी संसदीय राजनीतिका अनुभवी सांसद हुन्। पछिल्लो समय सार्वजनिक लेखा समितिको सदस्य रहेका उनी व्यापारिक क्षेत्रमा समेत स्थापित व्यक्तित्व हुन्। जनतामाझ लोकप्रिय देखिएका केसीविरुद्ध सत्ता गठबन्धनमा भएको सहमतिविपरीत माओवादी केन्द्रकी अञ्जना विशुंखेले पनि काठमाडौँ – १० मा उम्मेदवारी दिएकी छन्। तथापि उनी मुख्य प्रतिस्पर्धा नभएको गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतले देखाउँछ।
कीर्तिपुरमा २०१५ सालमा जन्मिएका केसी नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै २०३० सालबाट राजनीतिमा लागेको उनी बताउँछन्। सरस्वती क्याम्पसमा नेविसंघको राजनीति गरेका केसी २०४६ सालबाट पार्टीगत राजनीतिमा लागे। उनी २०५१ र ०५६ मा कांग्रेस क्षेत्रीय सभापति भए भने चार पटकसम्म कांग्रेसको महासमिति सदस्य भए। राजनविरुद्ध एमालेले चुनावी मैदानमा उतारेका ३९ वर्षे हिमेश युवा संघको राजनीतिबाट उठेका काठमाडौँ जिल्ला सदस्य हुन्।
काठमाडौँ १० मा एमालेले ‘हेभिवेट’ नेतालाई अघि सार्ने प्रयास गरे पनि तयार नभएपछि युवा उमेरमै उनले संघीय संसदको सदस्यका लागि टिकट पाए। एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई काठमाडौँ १० मा गएर चुनाव लड्न पार्टीले आग्रह गरे पनि उनी पन्छिए।
स्थानीय तहको चुनावमा दलहरुका वडा अध्यक्षहरुले पाएको मतअनुसार काठमाडौँ १० मा कांग्रेस पहिलो शक्ति हो। कांग्रेसले २४ हजार ६७५, एमालेले १८ हजार ८३८, माओवादीले ४९४२ मत पाएका छन्। त्यस्तै राप्रपा २४९६ र एकीकृत समाजवादीले १३४२ मत ल्याएका छन्।
प्रकाशित: ३१ आश्विन २०७९, सोमबार ०५:३८