कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा संसद् छिर्ने तेस्रो प्रयासमा


तरुण पत्रिका

१ कार्तिक २०७९, मंगलवार ०६:५५

झापा । झापा क्षेत्र नम्बर १ मा आगामी निर्वाचनमा रोचक भिडन्त हुने देखिएको छ । पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा चुनावी मैदानमा छन् । उनलाई टक्कर दिन नेकपा एमालेबाट पूर्वकानुनमन्त्री अग्नि खरेल उभिएका छन् ।

शर्मा साविककै आफ्नो क्षेत्रबाट विजयी हुँदै संसद् छिर्ने तेस्रो प्रयासमा छन् भने खरेल यस क्षेत्रबाट पहिलोपटक चुनावी परीक्षणमा छन् । गठबन्धनको साथ पाएका शर्मा यसपटक विजयी हुनेमा ढुक्क देखिन्छन् । अर्कोतिर विगतमा एमालेले यस क्षेत्रबाट पाउँदै आएको मतका कारण खरेलको आत्मविश्वामा पनि कुनै कम छैन ।शर्मालाई गठबन्धनसँगै एमालेले जनताले रुचाएकाु मानिने स्थानीय नेता रविन कोइरालालाई टिकट नदिएपछि फाइदा हुने देखिन्छ । ०७० र ०७४ मा एक्लै लडेका विश्वप्रकाशलाई यसपटक माओवादी र एकीकृत समाजवादीको साथ छ । प्रतिनिधिसभा सदस्यमा झापा १ बाट एमालेका कोइराला एकल सिफारिसमा परेका थिए । तर, उनलाई प्रदेशका लागि टिकट दिएपछि कार्यकर्तामाझ केही असन्तुष्टि देखिएको छ ।
यता कांग्रेसका एक नेता भने यसपटक शर्माले चुनाव जित्ने बताउँछन् । खरेललाई राप्रपाको साथ छ । राप्रपा यस क्षेत्रको तेस्रो शक्ति हो । तर, एमाले–राप्रपा तालमेलले पनि खरेललाई सहज नहुने कांग्रेस पक्षको दाबी छ । शर्मा ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग पराजित भएका थिए । ०७४ मा उनलाई तत्कालीन वामगठबन्धनका उमेदवार माओवादीका राम कार्कीले रोके । त्यसबेला शर्माले ३३ हजार तीन सय १० मत ल्याएका थिए । निर्वाचित कार्कीले ३६ हजार एक सय ७३ मत ल्याएका थिए ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिणाम हेर्ने हो एमाले बलियो देखिन्छ । वडामा कांग्रेस, माओवादी र समाजवादीका उमेदवारले २८ हजार चार सय ६ मत प्राप्त गरेका थिए । एक्लै चुनाव लडेको एमालेको वडाध्यक्षका उमेदवारको मत ३१ हजार दुई सय ३२ थियो । यसरी हेर्ने हो भने पनि एमाले दुई हजार ८ सय २६ मतले अगाडि छ । साथै यसपटक एमालेको राप्रपासँग पनि तालमेल छ । स्थानीय तह निर्वाचनमा राप्रपाका वडाध्यक्ष उमेदवारले क्षेत्र नम्बर १ मा पाँच हजार आठ सय ३० मत पाएका थिए ।क्षेत्र नम्बर १ मा शर्मा, खरेलसहित १३ जनाको उमेदवारी परेको छ । यस क्षेत्रमा मेचीनगर नगरपालिकाका १५ वडा, भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडा र बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६, ७ नम्बर वडाहरू पर्छन् ।

प्रकाशित: १ कार्तिक २०७९, मंगलवार ०६:५५