२०१५ को चुनाव हुनु भन्दा तीन महिना अघि मङ्सिर २४ गतेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव डा. केशरजंग रायमाझीले भनेका थिए— ‘संसद्मा हाम्रो बहुमत रहे हामी सरकार बनाउँछौं ।’
तर कुल १०९ मध्ये कम्युनिस्ट पार्टीले ४७ क्षेत्रमा मात्र उम्मेदवारी खडा गर्न सक्यो । त्यसैले चुनावअघि नै कम्युनिस्टहरु पार्टी कमजोर देखिइसकेको थियो । संसद्को बहुमतका लागि ५५ सिट आवश्यक पथ्र्यो । उम्मेदवारी दिएजति जम्मै सिट जित्ता समेत बहुमतको सरकार बनाउन वामपन्थीलाई थप आठ मत चाहिन्थ्यो । त्यो बेला सरकार बनाउने निर्णय गर्नु अपरिपक्व मात्र होइन, उनीहरुको बचपनापन थियो ।
कांग्रेस नेताहरु गणेशमान सिंह र तुलसी गिरी कम्युनिस्टको भयानक विरोध गर्थे— ‘मान्छे बौलायो भने कम्युनिस्ट हुन्छ, स्याल बौलायो भने सहर पस्छ ।’ उनीहरु तर्क गर्थे— ‘कम्युनिस्ट पनि मान्छे हुन्छ !’ कम्युनिस्ट नेता कमलराज रेग्मीले भनेका छन्— ‘जति विरोध गरे पनि हामीसँगको छलफलमा उनीहरु टिक्तैनथे । कम्युनिस्टहरु धनी होइनन्, गरिब, दुःखी मान्छे हुन् भन्ने धारणा थियो ।
प्रजातन्त्र रक्षा गर्न संसद्भित्र वामशक्तिको विशेष भूमिका रहनु आवश्यक छ भन्ने महत्वपूर्ण नारा थियो कम्युनिस्ट पार्टीको । उनीहरुले चलाएको किसान आन्दोलनले बारा, पर्सा, रौतहट लगायत तराईका जिल्लामा वामपन्थीहरुको सङ्गठन बलियो भएको थियो भने काठमाडौं उपत्यकामा पनि राम्रै प्रभाव थियो ।
पोलिटब्युरोका पाँच सदस्य चुनावी मैदानमा थिए तर तुलसीलाल अमात्य एक जना मात्र ललितपुर क्षेत्र नं. ३ बाट विजयी भए । नेपाल कम्युनिस्ट पार्टीबाट अमात्य सहित कमलराज रेग्मी, शेख फर्मान र हरदयाल महतो चार जनाले मात्र चुनाव जिते । महासचिव डा. रायमाझी ९३ नं. क्षेत्र पाल्पामा ३,६७१ मत पाएर चौथो स्थानमा सीमित हुन पुगे । नेता पुष्पकलाल श्रेष्ठ क्षेत्र नं. १ काठमाडौंमा कांग्रेस नेता गणेशमान सिंहसँग पराजित भए । पोलिटब्युरो सदस्य कमर शाह क्षेत्र नं. ३६ सप्तरीमा २,९९३ मत पाएर दोस्रो स्थानमा रहे । पोलिटब्युरो सदस्य कृष्णराज बर्मा क्षेत्र नं. ३७ सप्तरीमा १०७ मतको झिनो अन्तरमा स्वतन्त्र उम्मेदवार हरिलाल चौधरीसँग पराजित भए । चौधरीले ६,१३२ र बर्माले ६,०२५ मत पाएका थिए ।
त्यसै गरी मोहनविक्रम सिंह, शम्भुराम श्रेष्ठ, निर्मल लामा पनि चुनाव हारे । ‘फेरि दुई जना निरक्षर र केही नबुझेका प्रतिनिधिले जितेका थिए । तुलसीलाल र कमलराज रेग्मी बाहेक राम्रोसँग आफ्ना कुरा राख्न सक्ने नेता संसद्मा पुग्नै सकेनन् ।’
प्रकाशित: १ कार्तिक २०७९, मंगलवार १९:३८