गठबन्धनमा चुनावपछि शक्ति बाँडफाँडबारे कुरा नभएको प्रधानमन्त्री देउवाको खुलासा



काठमाडौ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछिको शक्ति बाँडफाँडबारे गठबन्धनमा कुनै कुराकानी नभएको जानकारी दिएका छन्। आइतबार बेलुका सम्पदाकहरुसँगको अनौपचारिक कुराकानीका क्रममा सभापति देउवाले सत्ता गठबन्धनमा अहिलेसम्म त्यस विषयमा प्रवेश नै नगरेको जनाएका हुन्।देउवाले भने, ‘त्यो विषयमा हामीले छलफल नै गरेका छैनौँ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री कसले लिने भन्नेबारे कुराकानी भएको छैन।’
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा र लोसपासहितका दलहरु सत्ता गठबन्धनमा आबद्ध भएर मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा उम्मेदवारी दिएका छन्। एमाले नेतृत्वेको जसपा, राप्रपासहितको गठबन्धनले भावी प्रधानमन्त्रीका रुपमा केपी ओलीलाई अघि सारे पनि सत्ता गठबन्धनले त्यस बारेमा केही बताएको छैन। सार्वजनिक रुपमा गठबन्धनबाट भावी प्रधानमन्त्री को भन्ने प्रश्न उठे पनि कुनै पनि नेताले जवाफ दिएका छैनन् ।

प्रकाशित: ७ कार्तिक २०७९, सोमबार ०६:४३