शिव लम्साल
नेपाली कांग्रेस नै यस्तो उदार र लोकतान्त्रिक संस्कार भएको पार्टी हो, जसमा परस्परविरोधी गुट या नेताहरुविच कटुतापूर्ण सम्बन्ध रहँदैन ।यतिबेला दिनहुँजसो मिडियाहरुमा नेकपाबाट अलग भएका तिन समूह एमाले, माओबादी केन्द्र र एकिकृत समाजबादीका शिर्ष नेताहरुविच एकले अर्कालाई ‘प्रतिगामी’, ‘दलाल’, ‘धुन्धुकारी’जस्ता आक्षेप लगाइरहेका छन् । यता, नेपाली कांग्रेसमा चाहिँ प्रतिधु्रवी समूहका नेताहरुविच शालिन र शिष्ट भाषामा वैचारीक र नीतिगत द्वन्द्व भएको देख्न पाइन्छ ।
नेपाली कांग्रेसको हालै सम्पन्न महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा र ‘देउवाइतर समूह’बाट डा. शेखर कोइरालाको भिषण प्रतिश्पर्धा भयो । सभापतिमा पराजित भए पनि डा. शेखरले त्यसलाई सहर्ष आत्मसात गरे । देउवाप्रति उनले आजसम्म कुनै कटु बचन बोलेको सुनीएको छैन ।
हुन पनि डा. शेखरको व्यवहारमा उत्तेजना, आवेग र आक्रोश खासै देखिदैन । यो उनले पारिवारिक लिग्यासी मात्र हैन, काँग्रेसको सभ्यता शैलीबाट सिकेको संस्कार हो । जननेता विपी कोइरालापछि उनकै जस्तो शालिन र शिष्ट राजनीतिक संस्कार कताकता हामी डा. शेखरमा पाउँछौं ।
डा. शेखर यतिबेला आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ मा शक्रिय छन् । मोरङ भनेको कोइराला परिवारको गृह क्षेत्र मात्र हैन, यो लोकतान्त्रिक आन्दोलनको राप र ताप निकाल्ने ऐतिहासिक भट्टी पनि हो । विराटनगर जुट मिलमा भएको मजदुर आन्दोलनपछि नै जहानीया राणाशासनविरोधी आन्दोलनको ज्वारभाटा सिर्जना गरेको इतिहास आलै छ ।
मोरङ–६ मा सत्ता गठबन्धनका साझा उम्मेदवार डा. शेखरले यसपाली पनि एमालेका लालबाबु पण्डितसँग प्रतिश्पर्धा गरीरहेका छन् । बितेका पाँच वर्षमा यो क्षेत्रमा लालबाबुको पकड खस्कीसकेको छ ।
लालबाबु अलोकप्रिय हुनुका मुख्य दुइ कारण छन् । एक त उनले व्यक्तिगत रुपमा पटक–पटक पाखण्डपूर्ण रवैया प्रदर्शन गर्नु । अर्को, दुइ–दुइ पटक संसद विघटन गरेर लोकतन्त्रकै हुर्मत लिने तात्कालीन प्रधानमन्त्री केपी ओलीका हरेक असवैधानिक कदमको समर्थन गर्नु ।
हामीलाई सम्झना होला, २०७४ को निर्वाचनताका लालबाबु साइकल चढेर गाउँ गाउँमा भोट माग्न हिंडेका थिए । त्योबेला सबैले ठाने, लालबाबु त कस्ता सादगीपूर्ण अनि सच्चा कम्युनिष्ट भन्न मिल्ने सर्वहारा नेता रहेछन् ।
जसै उनी मन्त्री बने, उनलाई अन्य मन्त्रीलाई भन्दा दोब्बर बढी गाडी चाहियो । साइकल चढेर चुनाव जितेका लालबाबुले मन्त्रालयमा नयाँ नयाँ गाडीको लाम लगाए । अनि बल्ल उनको कथित सादगीपन अनि सर्वहारापनको पोल खुलीहाल्यो ।
लालबाबु २०४८ सालदेखि नै पटक–पटक मन्त्री भएर असफल भइसकेका पात्र भएकाले यसपाली मोरङ–६ का जनता विचारवान र दोहोरो भूमिका नरुचाउने नेता डा. शेखरलाई जिताउन आतुर छन् भन्न अत्युक्ती नहोला ।
कसैकसैलाई लाग्दो हो, डा. शेखर राजनीतिका पुराना खेलाडि हैनन् । २०४६ सालको जन आन्दोलनपछि राजनीतिमा शक्रिय कोइरालाको व्यक्तित्व २०६२÷०६३ को आन्दोलनताका मात्र उफानमा पुगेको हो ।
तर, राजनीति पर्दाबाहिरबाट मात्र हुँदैन, पर्दाभित्रबाट पनि हुन्छ र गरीन्छ । माकेका नेता पुष्पकमल दाहाललाई पनि त जनताले शान्ति प्रकृया सुरुभएपछि मात्र देखेका हुन् । नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई शान्ति प्रकृया सुरुहुनुअघि कसैले चिन्दैनथे । २०४६ अघिसम्म कसले चिनेको थियो र मदन भण्डारी र झलनाथ खनाललाई ?
ठिक यसैगरी डा. शेखरले पनि पंचायतकालदेखि नै राजनीतिमा आफ्नो विशिष्ट भूमिका निर्वाह गर्दै आएको यहाँ स्मरणीय छ । यो त्यतिबेलाको कुरा हो, जतिबेला कोइराला डाक्टरी पढन दिल्ली पुगेका थिए ।
दिल्लीमा रहँदा तात्कालीन भारतीय जनता दलका अध्यक्ष चन्द्रशेखरले तात्कालीन प्रधानमन्त्री मोरारजी देशाइकहाँ लगेका थिए । प्रधानमन्त्री देशाइले कोइरालालाई काठमाडौं जाने हवाई टिकट र अर्को एउटा खाम दिएका थिए । त्यो खाम खासमा नेपालमा नजरबन्दमा रहेका बिपी कोइरालालाई लेखिएको पत्र थियो ।
सुरक्षाकर्मी र पंचायती गुप्तचरहरुबाट जोगाउँदै कोइरालाले मोरारजी देशाइको पत्र काठमाडौं, चाबहिलस्थित निवासमै पुगेर बिपी कोइरालालाई बुझाएका थिए ।
बिपीले स्वदेशमै बस्न भनेपछि डा. शेखर दिल्ली फर्किएनन् । नजरबन्दमा रहेका बिपीले डा. शेखरलाई त्योबेला बाहिर रहेका विभिन्न नेतालाई भेटन, आफ्नो सन्देश उनीहरुलाई सुनाउन र उनीहरुको सन्देश आफुसम्म ल्याउन खटाएका थिए ।
यस्तो सन्देशबाहकको भूमिका डा. शेखरले २०४६ सालको जन आन्दोलनमा पनि निर्वाह गरेका थिए । त्योबेला उनी कोशी अंचल अस्पतालमा कार्यरत थिए । चिकित्सकहरुलाई आन्दोलनमा उतार्न उनले भित्री रुपमा निकै मेहनत गरेको अहिले पनि उतिबेलाका चिकित्सकहरु सम्झन्छन् ।
डा. शेखरको सबैभन्दा महत्वपूर्ण र ऐतिहासिक भूमिका चाहिँ दिल्लीमा बाह«बुँदे समझदारी गराउने नै हो । त्यतिबेला दिनहुँ सयौं नेपाली मारिदै थिए । जताततै हिंशा र आतंकको साम्राज्य थियो । जनता शान्ति चाहन्थे । कुनै न कुनै उपायले माओबादीलाई हतियार बिसाउन लगाउनु अपरिहार्य थियो ।
राजा ज्ञानेन्द्रले ‘माघ १९’को कदम चालेपछि नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालामा पनि राजतन्त्रप्रतिको मोह कमजोर भएर गयो । द्वन्द्वरत त्रिपक्षीय शक्ति (राजा, सँसदबादी दल र माओबादी)का कारण द्वन्द्वले निकास पाइरहेको थिएन । कुनै एउटा शक्ति अर्को शक्तिसँग मिलेको खण्डमा मात्र द्वन्द्व द्विपक्षीय हुन्थ्यो, जसले वार कि पारको अवस्था सिर्जना गर्नसक्थ्यो ।
यो राजनीतिक शक्ति सन्तुलनको गुह्य बुझेका सभापति कोइरालाले राजाको दमन चर्किदै गएपछि माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउने अठोट गरे ।
त्योबेला माओबादीको शिर्ष नेतृत्व भारतमै थियो । गिरिजाबाबु आफै भारत ओहोर दोहोर गर्दा बन्न लागेको परिस्थिति पनि बिग्रने भएकाले उनले यसको सारा जिम्मा दिए, उनै डा. शेखरलाई ।
डा. शेखर दिल्ली पुगेर माओबादी पक्षसँग प्रारम्भिक वार्ता गरे । परिस्थिति सकारात्मक दिशातर्फ मोडियो । त्यसपछि शेखरसँगै कृष्णप्रसाद सिटौला र भारतले विश्वास गर्ने साँसद अमरेशकुमार सिंह पनि दिल्ली गए ।
त्योबेलासम्म डा. शेखर चिकित्सा पेशामै थिए, राजनीतिमा खुलीसकेका थिएनन् । भारतमा मावली घर र दाजुको समेत घर भएकाले उनलाई भारत आजत जावत गर्न सजिलो पनि थियो र कसैले शंका गर्ने अवस्था पनि थिएन । यसबाट सोझो फाइदा भयो, बाह«बुँदे समझदारीको पृष्ठभूमि तयार पार्न ।
डा. शेखरले नै गिरिबाबु र प्रचण्डविच मध्यस्थताको भूमिका निर्वाह गरे । अन्ततः २०६२ साल मंसिर १२ गते १२ बुँदे समझदारी भयो, त्यतिबेला गिरिजाबाबु र डा. शेखर एकसाथ दिल्लीमा प्रचण्ड र डा. बाबुराम भट्टराईलाई भेटिरहेका थिए ।
राजनीतिको खेल न हो, योगदानको सहजै कदर कहाँ हुन्छ र ? डा. शेखरको पहल र मेहनतबाट बाह«बुँदे समझदारी भयो । आन्दोलन भयो । राजा झुके । प्रतिनिधिसभा पुनस्थापना भयो । त्यसपछि गठित अन्तरीम सँसदमा भने डा. शेखरलाई मनोनयन गरिएन । बरु, कृष्ण सिटौला नै यो सबै परिघटनाको ‘नायक’ कहलीए ।
डा. शेखरलाई राजनीतिमा स्थापित हुनबाट रोक्ने अनेक तगारा देखा परे । कोइराला परिवारभित्रैबाट उनलाई हतोत्साहित नगरिएको हैन ।
आमा नोना र काका गिरिजाप्रसाद कोइरालाको निधनपछि पार्टी नेतृत्वमा आएका शुसील कोइरालाले पनि डा. शेखरलाई खासै प्रोत्साहित गरेनन् । तैपनि उनले काँग्रेस केन्द्रिय समितिमा अत्याधिक मत ल्याएर देखाइदिए, देशभरका काँग्रेसजन शेखरको पक्षमा छन् । त्यसपछि नै हो, शिर्ष नेतृत्वले शेखरको महत्व बुझेको ।
अनलाइनखबर डटकमले ‘विचार’ स्तम्भमा विश्लेषण गरेको छ, ‘डा. शेखर कोइरालाको सकारात्मक पक्षको कुरा गर्दा उनी सुजाता र शशांकभन्दा बढी व्यवहारीक राजनीतिज्ञजस्ता देखिन्छन् । आर्थिक मामिलामा पनि उनी तुलनात्मक रुपमा कोइराला परिवारका बेदाग नेता हुन् । आफ्ना कार्यकर्ताहरुलाई उनी आफ्नै स्व–आर्जनमा टिकेर राजनीतिमा लाग्न सल्लाह दिन्छन् ।’
यो विश्लेषण यथार्थसँगत छ । वास्तवमै कोइराला परिवारका अन्य सदस्यको तुलनामा डा. शेखर बेदाग छन् । उनमा शालिनता मात्र हैन, सादगीपन छ । पैसाकै बलमा राजनीति गर्नुपर्छ भन्ने सोच उनमा किमार्थ छैन । ‘प्रखर विचार, र्ससदमा शेखर’ नारा फगत नारा मात्र हैन, आजको अपरिहार्यता पनि हो ।
जसरी सँसदमा गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, मिनेन्द्र रिजालजस्ता प्रखर वक्ताको काँग्रेसलाई खाँचो छ, त्यसैगरी डा. शेखर पनि सँसदका सोभा हुन् । उनी आफ्नो भिजनमा स्पष्ट छन् । दुइजिब्रे र दोहोरो भाषा उनी बोल्दैनन् ।
यसपालीको निर्वाचनमा उनले धेरै तिलस्मी वाचा र उडन्ते गफ दिएका छैनन् । उनले भनेका छन्, ‘राजनीतिक स्थायित्व, असल शासन, भ्रष्टाचारमुक्त समाज निर्माण र दण्डहिनताको अन्त्य ।’
राजनीतिक स्थायित्वको सपनालाई कम्युनिष्टहरुले फेरी एकपटक चकनाचुर पारिदिए । २०७४ को निर्वाचनमा बाम गठबन्धनलाई जनताले श्ुसासन, स्थायित्व र समृद्धिको नारामा विश्वास गरेर करीब दुइ तिहाई मत दिए । तर, निकट बिगत ज्वलन्त प्रमाणका रुपमा हामी सबैका सामु जगजाहेरै छ कि कम्युनिष्टहरुले दुई तिहाई पाएर पनि देशमा राजनीतिक स्थायित्व दिन सकेनन् ।
ओम्नीदेखि यतिसम्म अनि सेक्यूरीटी प्रेस खरिददेखि वाइड बडी घोटालासम्मका कान्डले कम्युनिष्ट सरकारको शुसासन कसरी कुशासनमा परिणत भयो, त्यो हामीले देखिहाल्यौं । समृद्धिको नारा त ओलीको पानीजहाज, रेल र घरघरमा पाइपबाट ग्यासको हावादारी सपनामा कतै बिलाएर गइहाल्यो ।
जहाँसम्म स्थायित्वको प्रश्न छ, त्यसमा स्वयं प्रधानमन्त्री ओली दल विभाजनका लागि अध्यादेश ल्याउने, सत्ता समीकरणको खेल खेल्ने, आफ्नो अभिष्टमा पार्टीभित्रैबाट अवरोध भएपछि पटक–पटक सँसद विघटन गर्ने खेलमा लाग्ने दुश्चक्रमा फँसे । यसको फल अहिले ओलीले भोगीरहेका छन् । नेकपा त फुटयो नै, एमाले पनि दुइ चिरा भएको छ ।
कम्युनिष्टहरुबाट राजनीतिक स्थायित्व नहुने र त्यसको नेतृत्व काँग्रेसले नै गर्नुपर्ने अवस्थामा डा. शेखरले आफ्नो मुल नाराका रुपमा राजनीतिक स्थायित्वलाई अघि सार्नु समय सापेक्ष अपरिहार्यता हो ।
हाम्रो लोकतन्त्रमा जनताले खोजेको धेरै दल पनि हैन, अनि अतिरंजीत महत्वाकाँक्ष बोकेका धेरै नेता पनि हैन । बस, असल शासन र भ्रष्टाचारमुक्त समाज नै देश र जनताले खोजेको हो । हामीले राजनीतिक आन्दोलन र क्रान्तिमार्फत लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र संघीयता ल्याइसक्यौं, अब खाँचो छ, असल शासनको । अनि देशलाई भित्रैदेखि खोक्रो पार्ने भ्रष्टाचार रुपी धमीरा सफायाको ।
डा. शेखरले अघि सारेको महत्वपूर्ण चुनावी एजेन्डा हो, ‘दण्डहिनताको अन्त्य ।’
भ्रष्टाचार मौलाउनुमा पनि यही दण्डहीनता नै मुख्य कारण हो । विधि पद्धती मिच्ने, भ्रष्टाचार गर्ने, नीतिगत अनियमितता गरेर निजी सम्पत्ती थुपार्नेविरुद्ध कडा कार्वाही नभएसम्म समाज सुध्रीन सक्दैन । यसका लागि दलको शिर्ष नेतृत्व तहबाटै स्वच्छता अभियान अपरिहार्य छ । डहीनताको अन्त्य नभएसम्म राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण भइरहनेछ । अतः ढा. शेखरले अघि सारेको मुद्दा सिंगो देशको कायापलट गर्नसक्ने मुद्दा हो, कुनै एक क्षेत्रको मात्र हैन ।
यी यावत विचार, सोच, शक्रियता र लामो लिग्यासीका कारण यसपाली ससदमा डा. शेखरको उपस्थिति अपरिहार्य छ ।
प्रकाशित: १२ कार्तिक २०७९, शनिबार २२:०३