शुक्रबारदेखि आयो बलिउड फिल्म दृश्यम २ प्रदर्शन



काठमाडौं : शुक्रबारदेखि बलिउड फिल्म दृश्यम २ प्रदर्शनमा आएको छ। अभिशेक पाठकको निर्देशनमा बनेको क्राइम, ड्रामा, सस्पेन्स फिल्मले शुक्रबारदेखि एकल प्रदर्शन थालेको हो। 

२०१५ मा प्रदर्शनमा आएको सफल फिल्म दृश्यमको दोस्रो भागको रुपमा दृश्यम २ बनेको हो। सर्वाधिक शोका साथ प्रदर्शनमा आएको फिल्ममा दर्शकको उपस्थिति पनि उच्च देखिएको छ। मल्टिप्लेक्समा फिल्मले ३० देखि ५० प्रतिशतसम्म शो पाएको छ भने दर्शकको उपस्थिति पनि बिहानको शोमा ५० प्रतिशतभन्दा बढी देखिएको छ। साथै दिउसो र रातिको शोमा दर्शकको चाप बढ्ने देखिएको छ। 

फिल्मले विश्वभरीबाट पहिलो दिन १० देखि १५ करोड(भारु) कमाइ गर्ने अनुमान गरिएको छ। यसअघि ३८ करोडमा बनेको दृश्यमले १ सय १० करोड कमाएको थियो। फिल्ममा अजय देवगन, तबु, अक्षय खन्ना, श्रीया सरन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

त्यस्तै नेपाली फिल्म महापुरुषले हलमा तीन हप्ता पार गरेको छ। प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म शुक्रबारदेखि चौँथो हप्तामा प्रवेश गरेकोे हो। हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मले तीन हप्तामा झण्डै ८ करोडको कमाइ गरेको छ। 

यी बाहेक गत हप्तादेखि प्रदर्शनमा आएको बलिउड फिल्म उचाइ र हलिउड फिल्म ब्ल्याक प्यान्थरः वकान्डा फरेवर पनि प्रदर्शनरत छन्। 

प्रकाशित: २ मंसिर २०७९, शुक्रबार १२:४७