उपल्लो डोल्पामा हेलिकोप्टरमा निर्वाचन सामग्रीसहित कर्मचारी ओसार्दै



सुर्खेत । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन अब दुईदिन मात्र बाँकी छ । चुनाव हुन दुईदिन बाँकी रहँदा उपल्लो डोल्पाका विभिन्न मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी हेलिकोप्टरमार्फत बिहानैदेखि ओसार्न थालिएको छ ।

जिल्लाका ६८ वटा मतदान केन्द्र मध्य उपल्लो डोल्पाका विभिन्न १२ वटा मतदान केन्द्रमा हिमपात, चिसो लगायत भौगोलिक समस्याका कारण मतदान टोली हिँडेर जान सम्भव नभएकाले हेलिकोप्टरबाट पठाउन थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।

४८ घण्टाभन्दा अगाडि मतदानका लागि कर्मचारी, मतपत्र लगायत निर्वाचनका बन्दोबस्तीका सामग्री मतदान केन्द्रमा पुगिसक्नु पर्नेमा हेलिकोप्टर समयमा नआएकाले ढुवानी गर्न ढिला भएको जनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले समयमा हेलिकप्टरको व्यवस्थाका लागि निर्वाचन आयोगमा आग्रह गरेको भए पनि प्राविधिक कारणले केही ढिला भएको जनाएको छ ।

सदरमुकाम दुनैदेखि पैदलमार्ग मार्फत एक सातासम्म लाग्ने उपल्लो डोल्पाका शे(फोक्सुण्डो गाउँपालिकाको आटवटा मतदान केन्द्र, डोल्पोबुद्ध गाउँपालिकाको तीनवटा मतदान केन्द्र र छार्काताङसोङ गाउँपालिकाको एकवटा मतदान केन्द्र गरी जम्मा १२ वटा मतदान केन्द्रमा निर्वाचनका लागि मतदान टोली र निर्वाचन सामग्री नेपाली सेनाको दुईवटा ठूला हेलिकोप्टरबाट पठाउन थालिएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए ।

उनका अनुसार मतदान सकिएपछि पनि मतपेटिका, मतदानमा खटिएका कर्मचारी टोली र सुरक्षाकर्मीसमेत हेलिकप्टरबाटै सदरमुकाम दुनै ल्याइने व्यवस्था मिलाउन निर्वाचन आयोगसँग आग्रह गरिएको छ । भौगोलिक विकटता र भारी हिमपातका कारण निर्वाचनको पूर्व तयारी गर्न समस्या देखिएपछि हेलिकप्टरको प्रयोग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।

प्रकाशित: २ मंसिर २०७९, शुक्रबार १३:२४