मतदान सकिएपछि प्रधानमन्त्रीले भने– मतदाताई आभार, सबैलाई बधाई



काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएको भन्दै सम्बन्धित सबैलाई बधाइ दिएका छन्। उत्साह, संयम र धैर्यका साथ निर्वाचन गराउन सक्रिय भएका र अमूल्य मत दिएका मतदाताप्रति सबैप्रति उनले आभार व्यक्त गरेका छन्।

‘आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त हो। यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु,’ मतदान अवधि सम्पन्न भएपछि देउवाले जारी गरेको वक्तव्यमा भनिएको छ।

निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई उनले धन्यवाद दिएका छन्।

यस्तो छ देउवाको वक्तव्य
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रुपमा मतदान भएको छ। संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएका छन्।

यो आम निर्वाचनमा तपाईहरुले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको छ। मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ।

आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त हो। यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने बिश्वास लिएको छु। निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु। निर्वाचनमा तपाईहरुको सक्रियता र उत्साहपूर्ण सहभागिताका साथ अमूल्य मत खसाल्नु भएकोमा सरकार र राजनीतिक दलहरुलाई थप प्रेरणा दिएको छ। साथै, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पुर्‍याएको छ।

शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु। निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिन चाहन्छु। साथै, निर्वाचनमा सहभागी राजनीतिक दल, संचारकर्मी साथीहरु एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुप्रति समेत हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।

जय नेपाल!

प्रकाशित: ४ मंसिर २०७९, आईतवार १९:४८