काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म पाँच मन्त्री पराजित हुनुभएको छ भने तीन मन्त्री उम्मेदवार बनेको स्थानमा मतगणना जारी छ ।
गत आइतबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मतगणना केही स्थानमा अझै जारी छ । परराष्ट्र मन्त्री डा नारायण खड्काले उदयपुर क्षेत्र नं १ मा १४ हजार दुई सय ४१ मतसहित अग्रता कायम गरिराख्नुभएको छ । हालसम्म गृहमन्त्री बालकृष्ण खाण र सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले पछाडि हुनुहुन्छ ।
रुपन्देही ३ बाट उम्मेदवार बन्नुभएका गृहमन्त्री खाणले २९ हजार दुई सय ५५ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार दीपक बोहोराले ३० हजार पाँच सय ७७ मत प्राप्त गर्नुभएको छ । यस्तै सुनसरी ४ बाट उम्मेदवार बन्नुभएका सञ्चारमन्त्री कार्की एक सय एक मतसहित पछाडि हुनुहुन्छ । मन्त्री कार्कीले १९ हजार सात सय नौ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियतले १९ हजार आठ सय १० मत प्राप्त गर्नुभएको छ ।
यसपटकको निर्वाचनमा पाँच मन्त्रीले पराजय बेहोर्नु परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, युवा तथा खेलकूद मन्त्री महेश्वरराज गहतराज, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचनमा पराजित हुनुभएको छ ।
प्रकाशित: १० मंसिर २०७९, शनिबार ०५:३८