डोटी– डोटी केन्द्रविन्दु बनाई आएको भूकम्पमा परी ६ जनाको ज्यान गएको छ। भूकम्पमा घर भत्किँदा ६ जनाको ज्यान गएको हो। भूकम्पमा परी पाँच जना घाइते भएका छन्।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई ६.६ म्याग्निच्युडको भूकम्प गएको हो।
बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन्। पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको र एक जना उद्धार गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाइते पाँच जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २३ कार्तिक २०७९, बुधबार १४:००