संविधान रक्षा गर्न गठबन्धन गरेको हो, जिताउनुस् सेवक बन्नेछुः सुजाता कोइराला


तरुण पत्रिका

२४ कार्तिक २०७९, बिहीबार २१:०२

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा मोरङ–२ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार सुजाता कोइरालाले संविधान बचाउनका लागि गठबन्धन गरिएको बताएकी छन्। निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले संविधान माथि प्रहार गरेको आरोप लगाउँदै संविधान बचाउन गठबन्धन गरिएको बताएकी हुन्।

‘गठबन्धन संविधान रक्षाका लागि बनाइएको हो। एमालेले संसद भंग गर्न खोज्यो, संविधान माथि प्रहार गर्यो। त्यसकारण संविधान जोगाउन गठबन्धन गरिएको हो,’ उनले भनिन्, ‘म यो क्षेत्रमा रुख चिन्हमा भोट माग्न पाउँदा एकदमै उत्साही छु। तपाईँहरुको प्रतिनिधि भएर यहाँ आउँदैछु। तपाईँहरुको सेवा गर्नका लागि आउँदैछु । यो क्षेत्रका जनताले मलाई अत्याधिक बहुमतले जिताउनुहुनेछ भन्ने आशा लिएको छु।’

उनले आफ्ना पिता गिरिजाबाबुलाई मोरङ–२ले सँधै जिताएर प्रधानमन्त्री बनाएको बताइन्। गिरिजाबाबुलाई लगाएको गुण आफूले तिर्ने उनको भनाइ छ। ‘गिरिजाबाबु र कांग्रेसको संघर्षले प्रजातन्त्र आएको छ मुलुकमा। यो क्षेत्र गिरिजाबाबु र विपीलाई सहयोग गरेको ठाउँ हो। तपाईँहरुले मत दिएर गिरिजाबाबुलाई प्रधानमन्त्री बनाउनुभएको हो। त्यसकारण हाम्रो सम्पूर्ण सहयोग तपाईँहरुलाई हुन्छ। कुनै चिन्ता नलिनुस्,’ उनले भनिन्, ‘महिलाहरुको आर्थिक उन्नतीका लागि काम गर्नेछु। महिलाहरुले महिलालाई नै सपोट गर्नुपर्छ। कांग्रेसलाई जिताउनुस्।’

उनले एमालेलाई जिताएर जनताको दुःख पार नहुने बताइन्। ‘जनतालाई नागरिकता विहिन बनाएर अपराध गर्ने पार्टीलाई भोट नदिनुस्। तपाईँहरुले नागरिकता पाउनुहुन्न। हामी जितेर जान्छौं। गठबन्धनको सरकार बन्छ पाँच वर्ष सरकार टिक्छ, धेरै विकास गर्छौं। पहिलो संसद्बाट नागरिकता विधयेक पास गर्छौं। प्रधानमन्त्री र राष्ट्रपति गठबन्धनको बन्छ,’ उनले भनिन्।

प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार २१:०२