काठमाडौं । नेपाली सेना ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि परिचालन भएको छ।
सरकारको सिफारिसमा सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएकी हुन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेताले मतदान सुरु हुनुभन्दा १० दिन पहिले तोकिएको स्थानमा पुगी सुरक्षा तयारी सुरु गरेको छ। निर्वाचन सुरक्षार्थ परिचालन भएसँगै एकीकृत सुरक्षा योजनाअन्तर्गत सेनाले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको छ।
सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले निर्वाचन सुरक्षार्थ नेपाली सेना गत ४ कात्तिकदेखि परिचालन भई शनिबारसम्म सबै स्थानमा पुगिसकेको जानकारी दिए। निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा कम्पनी अपरेटिङ बेस (सीओपी) तथा पल्टुन अपरेटिङ बेस (पीओवी) स्थापना भइसकेका छन्।
एक पल्टुनमा ३९ जना सैनिक रहने र तीन पल्टुन बराबर एक कम्पनी रहने गरी नेपाली सेनाको संरचना रहेको छ।
सेनाले सुरक्षा संवेदनशीलताका आधारमा देशका ७६२ स्थानमा बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको र थप १४३ स्थानमा फौज राख्ने तयारी भइरहेको जनाएको छ।
प्रकाशित: २७ कार्तिक २०७९, आईतवार १२:३६