ओनसरीले भनिन्– मलाई काठमाडौंमा जिताउनुस्, हामी रोल्पामा कांग्रेस जिताउँछौं


तरुण पत्रिका

२८ कार्तिक २०७९, सोमबार २०:१६

काठमाडौं– पूर्वसभामुख ओनसरी घर्तीले मंसिर ४ को निर्वाचनमा आफूलाई जिताउन कांग्रेसलाई आव्हान गरेकी छन्। काठमाडौं–२ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेकी उनले निर्वाचनमा माओवादी, कांग्रेस र एकीकृत समाजवादी एक अर्काप्रति इमानदार रूपमा प्रस्तुत हुने बताएकी छन् ।

सत्तारुढ गठबन्धनले साँखुमा सोमबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै घर्तीले लोकतन्त्र, व्यवस्था, संविधान र जनताको जित या हारका रूपमा लिनुपर्ने उनको भनाइ थियो । घर्तीले आफूलाई माओवादीको मात्र नभई गठबन्धनको उम्मेदवारका रूपमा हेर्न भन्दै माओवादी मतदाता र जनताले अन्यत्र कांग्रेस र समाजवादीका उम्मेदवारलाई पनि आफ्नै ठानेर मत दिने उल्लेख गरिन् ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर काठमाडौं–२ बाट संघमा आफू विजयी हुँदै गरेको भन्दै उनले रोल्पाको प्रदेश (ख)मा माओवादी मतले कांग्रेस उम्मेदवार विजयी हुँदै गरेको बताइन् । घर्तीको गृहजिल्ला रोल्पाको प्रदेश (ख) मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गठबन्धनका साझा उम्मेदवार छन् ।

‘कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर यहाँबाट संघमा म विजयी हुँदै गर्दा उनले रोल्पाको प्रदेश (ख) मा कांग्रेसका उम्मेदवार विजयी हुँदैछन्,’ उनले भनिन्, ‘तपाईँहरू हँसिया हथौडामा भोट दिएर मलाई यहाँ जिताउँदै हुनुहुन्छ, रोल्पामा हामी रुखमा भोट दिएर काँग्रेसका उम्मेदवार जिताउँदैछौं । कतै कलम र कतै ग्लासको जित गराउँदैछौं ।’

प्रकाशित: २८ कार्तिक २०७९, सोमबार २०:१६