काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा मुलुकका दुई ठूला पार्टीका पदाधिकारी चुनावी मैदानमा छन्। कांग्रेसले उपसभापति धनराज गुरुङलाई अघि सार्दा एमालेले सचिव पद्मा अर्याललाई दोस्रो पटक मैदानमा पठाएको छ।
फरक पार्टीका दुई पदाधिकारीबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान छ। धनराज पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। तर उनीसँग दुई पटक संविधानसभा सदस्य भएर काम गरेको अनुभव भने छ। उनी ०६४ र ०७० मा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका थिए। पहिलो पटक जनताबाट प्रत्यक्ष निर्वाचित भएर संसद् भवन छिर्ने योजनामा रहेका गुरुङलाई यसअघि नै प्रत्यक्ष निर्वाचित भएर मन्त्री भइसकेकी अर्यालले टक्कर दिँदैछिन्।
त्यसो त अर्यालले कांग्रेसका हेभिवेटसँग प्रतिस्पर्धा गरेको यो दोस्रो पटक हो। ०७४ सालको निर्वाचनमा उनले तत्कालिन उपप्रधानमन्त्री तथा कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन्। तत्कालिन बाम गठबन्धनको समेत समर्थन पाएर अर्याल ३५ हजार १४२ मतका साथ विजयी हुँदा श्रेष्ठले ३१ हजार ४३६ मत प्राप्त गरेका थिए। पद्मा दोस्रो जितको खोजीमा छिन् भने गुरुङ पहिलै प्रयासमा सफलताको स्वाद चाख्ने दाउमा छन्।
अघिल्लो निर्वाचनमा जित निकालेकी पद्माका लागि यसपटक प्रतिस्पर्धी र अवस्था दुवै फरक छ। गोपालमानलाई पारजित गरेकी उनले यसपटक धनराजसँग प्रतिस्पर्धा गर्दैछिन्। त्यसो त अघिल्लो निर्वाचनमा उनलाई नेकपा माओवादी केन्द्रको समेत साथ थियो। यसपटक माओवादीको साथ पद्मालाई रहने छैन। पाँच दलीय सत्तारुढ गठबन्धनको साथ धनराजले पाउनेछन्, जुन दोस्रो जित निकाल्ने पद्माको अभिलाषामा बाधक बन्न सक्नेछ।
यो निर्वाचन क्षेत्रका मुख्य दल कांग्रेस र एमाले नै हुन्। गत स्थानीय तहको निर्वाचनमा दलहरुले प्राप्त गरेको परिणामले त्यसैको पुष्टि गर्छ। स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले ३६ हजार ८०६ मत पाउँदा एमालेले ३४ हजार ८०९ मत प्राप्त गरेको थियो। माओवादीले १ हजार २४३ मत प्राप्त गर्दा राप्रपाले ५११ र नेकपा एसले २३३ मत पाएको थियो। यो गणितलाई आधार मान्ने हो भने स्याङ्जा २ मा गठबन्धनको मत ३८ हजार २८२ हो। जुन एमालेले प्राप्त गरेको मत भन्दा चार हजारले बढी हो।
उपसभापति गुरुङले भ्रष्टाचारविरुद्धको एजेन्डालाई जनतामाझ लैजाने भएका छन्। भ्रष्टाचारविरुद्ध निरन्तर बोल्दै र लेख्दै आएका गुरुङले चुनावमा पनि यही एजेण्डालाई मुखरित गरिरहेका छन्। उनले भ्रष्टाचार अन्त्य नभएसम्म दिगो विकास सम्भव नभएको दाबी गर्दै आएका छन्। ुम निर्वाचित भएपछि मेरो पहिलो काम नै भ्रष्टाचार अन्त्यको पहलकदमी लिनु हो,ु उनले भने।
उनले विगतमा भोट हालेर पठाएको जनप्रतिनिधिको काम जनताले समीक्षा गर्नुपर्ने बेला आएको बताए। समग्र स्याङ्जाको विकास गर्न एकपटक कांग्रेसलाई मत दिनुपर्ने उनको तर्क छ। ‘जनताको रगत र पसिना चुसेर हिँड्ने जनप्रतिनिधिलाई बहिस्कार गर्नुपर्ने बेला आएको छ। विगतमा भोट हालेर पठाएका जनप्रतिनिधिको समीक्षा जनताले गर्नुपर्छ,’ उनले भने, ‘मुलुकमा भष्ट्राचार रोक्न सके विदेश पलायनदेखि झुपडीमा बसेका जनताले सामान्य औषधि सिटामोल खानलाई समस्या हुँदैन। म जनताको घरदैलोमा पहिलो पटक भोट माग्न जाँदैछु। समग्र स्याङ्जाको विकास गर्न एकपटक नेपाली कांग्रेसलाई विजयी गराउन मतदातासँग आग्रह गर्दैछु।’
धनराजको राजनीतिक विगत
२०३६ सालमा पहिलो पटक विद्यार्थी आन्दोलनमा जोडिएका धनराज २०३८ सालमा स्याङ्जाको धवथुम माविको नेविसंघ स्कुल इकाइ सभापति बनेका थिए। २०४० सालमा नेविसंघ स्याङ्जाको जिल्ला सचिव बनेका उनी २०४३ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियू उपसभापतिको उम्मेदवार बनेका थिए।
२०४४ सालमा स्ववियू सभापतिका उम्मेदवार बनेका उनी झलक सुवेदीसँग पराजित भएका थिए। उनी २०४८ सालदेखि लगातार कांग्रेसको महाधिवेशन प्रतिनिधि बनिरहे। २०४८ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्ष बनेका बनेका उनी २०५३ सालमा अध्यक्ष बने। २०५४ सालमा तरुण दलको महामन्त्री बनेका धनराज महामन्त्री रहँदै २०६४ सालमा संविधानसभाको सदस्य बनेका थिए।
२०७० मा संविधानसभा सदस्यमा दोहोरिएका धनराज सार्वजनिक लेखा समितिमा सदस्य थिए। त्यो बेला उनी भ्रष्टाचारविरुद्ध निर्मम सुनिन्थे।
कांग्रेसको १२औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्य बनेका उनी १३औं महाधिवेशनमा खुला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। तर ०७४ सालको निर्वाचनमा भने उनले उम्मेदवार बन्ने अवसर प्राप्त गरेनन्। कांग्रेसको १४ औं महाधिवेशनमा उनी डा। शेखर कोइराला समूहबाट उपसभापतिको उम्मेदवार बने। विजयकुमार गच्छदारलाई २ मतले हराउँदै धनराज कांग्रेसको उपसभापतिमा निर्वाचित भए।
प्रकाशित: २८ कार्तिक २०७९, सोमबार २१:०१