भविष्य बोक्न सक्ने नेतालाई मतदान गर्नुहोस्ः केसी



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नुवाकोट–२ का गठबन्धनका उम्मेदवार अर्जुननरसिंह केसीले मंसिर–४ को निर्वाचनमा हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्न सक्ने उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन्। उनले निर्वाचनमा भविष्यलाई बोक्न सक्ने नेतालाई रोज्न आग्रह गरेका हुन्। ‘उम्मेदवारहरूले म सक्षम छु, मेरो एजेण्डा राम्रो छन् भन्नू स्वाभाविक हो। तर, जसले हिजोको इतिहास र भोलीको भविष्यलाई बोक्न सक्छ त्यसैलाई जनताले मंसिर ४ मा मतदान मार्फत आफ्नो प्रतिनिधि रोज्नु पर्छ,’ केसीले भने।

कुनै पनि उमेदवारले व्यक्तिगत आलोचना र विरोध गरेर समय खेर फाल्न नहुने भन्दै केसीले ​जनतासामु आफू र गठबन्धनले स्पष्ट योजना र मन जितेर अगाडि बढेको बताए।

‘मंसिर ४ गते जनताले आफ्नो प्रतिनिधि चुन्दा सिंहदरबार डराउने प्रतिनिधि छानेर पठाउनुस्, सिंहदरबारमै हराउने प्रतिनिधि पठाउन हुँदैछ। राष्टि«य रुपमा आएका अनियमितता र भष्ट्रचारको बिरुद्ध म निरन्तर सडक र संसदमा लड्ने छु। जिल्लाबासीको हरेक सुख दुःखमा सदैव साथमा रहनेछु,’ उनले भने।

नेपाली जनताले पहिलोचोटी प्राप्त गरेको सार्वभौमसत्ता, संविधान रक्षाको निम्ति पाँच पार्टीबीच गठबन्धन भएको बताए । कुनै व्यक्तिगत रुपले के फाइदा हुने भनेर गठबन्धन गरिएको होइन,’ नेता केसीले भने, ‘संविधान ध्वस्त बनाउनेविरुद्ध गठबन्धन हो ।’

प्रकाशित: १ मंसिर २०७९, बिहीबार १९:३७