संसदीय दलमा सभापति शेरबहादुर देउवा नै बलियो : डा कोइराला


तरुण पत्रिका

१५ मंसिर २०७९, बिहीबार १२:१२

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दलको नेता चयनमा सभापति शेरबहादुर देउवा नै बलियो रहेको बताउनुभएको छ । संसदीय दलको नेता चयन संख्याको कुरा नै निर्णायक हुने भन्दै अहिलेको अवस्थामा शेरबहादुर देउवा नै बलियो भएको स्पष्ट पार्नुभएको छ ।

‘संसदीय दलका नम्बर गेम मुख्य कुरा हुन्छ’, बिहीबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभने , ‘अहिले नम्बर गेम हेर्दा शेरबहादुरजीसँगै बढी देखिन्छ। तर, यसबारे कुरा हुन पाएको छैन। म उहाँसँग र अन्य नेताहरूसँग छलफल गर्नेछु।’

महामन्त्री गगन थापालाई समर्थन गर्नुहुन्छ कि हुन्न भन्ने प्रश्नमा शेखरले त्यो विषयमा प्रवेश गर्ने बेला भइ नसकेको बताउनुभयो।

‘गगनजीसँग फोनमा अलिअलि कुरा भएको छ’, उहाँले भन्नु भयो , ‘म काठमाडौं गएपछि सभापति, वरिष्ठ नेता सबैसित छलफल हुन्छ।’

तपाईं आफैं प्रधानमन्त्रीमा दाबी गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको अर्को जिज्ञासामा उनले ‘दाबी गर्ने भनेर मात्रै नहुने’ दोहोर्‍याउँदै छलफल गर्ने बताउनुभयो । चुनावअघिको गठबन्धन अब पनि कायम हुने बताउँदै उनले गठबन्धनमा अन्य दल थप्ने गृहकार्य सुरू भएको जानकारी दिनुभयो।मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका लालबाबु पण्डितलाई हराएर कोइराला मोरङ(६ बाट निर्वाचित भएका हुन्।

प्रकाशित: १५ मंसिर २०७९, बिहीबार १२:१२