राजनीतिमा उद्यमी व्यवसायीहरुको सहभागिताको चर्चा गर्दा प्रायः अमुक दललाई कुस्त चन्दा दिएर राष्ट्रिय सभा या समानुपातिक साँसद हुने गरेको देखिन्थ्यो ।मिडियाकर्मीहरुमाझ पनि ‘फलानो व्यापारी यति करोड खर्चेर माननीय या मन्त्री भयो’ भन्ने चर्चा हुन्थ्यो । उद्यमबाट विश्राम लिएर राजनीतिमा होमिएका बिनोद चौधरीको भने कुरा बेग्लै छ ।
तराइ मधेश केन्द्रित राजनीतिका पुराना खेलाडि हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८५ मतान्तरले पराजित गर्दै पश्चिम नवलपरासी १ बाट विनोद चौधरी निर्वाचित भएका छन् । कुनै पनि औद्योगिक घरानाका पाका सदस्यले यसरी जनताको मन जितेर निर्वाचित हुनुलाई सुखद पक्ष मान्नुपर्छ र यो समग्र औद्योगिक क्षेत्रकै गौरवको विषय हो ।चौधरी त्यस्ता व्यक्ति हुन् जो हरेक क्षेत्रमा विजयी बन्दै आएका छन् । अल्लारे उमेरमा गायन क्षेत्रमा लागेका चौधरी तिनताक श्रोतामाझ लोकप्रिय गायक मानिन्थे । पक्कै पनि उनका दौंतरीहरु भुवन केसी या उदीत नारायण झा आदि चाहिँ कलाकारितामै जमे । चौधरी चाहिँ पिता पुर्खाले थालेको डेढ सय वर्ष पुरानो औद्योगिक घरानाको गौरव अझ माथि उचाल्न उद्यममै शक्रिय भए ।
चौधरी समूह अहिले नेपालकै प्रतिष्ठित औद्योगिक घराना मात्र बन्न सफल भएको छैन, स्वयं विनोद चौधरी विश्वकै खर्बपतिहरुको सूचीमा सूचीकृत हुन सफल भए ।चौधरी समूहलाई सफलताको उचाईमा पु¥याएर आफ्ना उत्तराधिकारी अर्थात नयाँ पुस्तालाई सम्पूर्ण अभिभारा सुम्पीइ विनोद चौधरीले राजनीतिमा हामफल्नुको एउटै उद्देश्य थियो, आफुले हालसम्म आर्जन गरेको अनुभवको सदुपयोग गर्दै देशको आर्थिक विकासमा सार्थक टेवा पु¥याउनु ।
आर्थिक विकासका भिजनबारे पुस्तकसमेत लेखिसकेका चौधरीको युवा जोश उस्तै छ । देशका कुनै पनि समस्याको समाधानबारे उनीसँग स्पष्ट भिजन पनि छ ।मुख्य कुरा, आफ्नो औद्योगिक घरानाको सफलता झैं अब उनी समग्र देशलाई आर्थिक रुपमा सफल बनाउने उदात्त चाहनाका साथ राजनीतिमा होमिएका हुन् भन्दा अत्युक्ति नहोला ।
राजनीति के हो भन्नेमा चौधरी स्पष्ट छन् । उनी बारम्बार भन्ने गर्छन्, ‘मेरो लागि राजनीति दर्शनका ठेलीमा खोज्ने विषय हैन । नेपाली जनताको घर आँगनमा विद्यमान समस्याहरुको समाधान गर्नसक्नु नै राजनीति हो । म यसकै लागि राजनीतिमा आएको हुँ । हामी राजनीति गर्नेहरु माक्र्सवाद, लेनिनवाद, जनवाद, पुँजीबाद, साम्यबादका उद्धरणहरु घोकेर भाषण गर्न जान्छौं । तर यी वाद सुन्दा सुन्दा जनता दिक्क भइसके । जनतालाई वादको परिभाषा हैन, आफ्नै आँखा अगाडि देखिने र जीवनमा प्रत्यक्ष भोग्न पाइने परिवर्तन चाहिएको छ ।’
नेपाली काँग्रेसको गत महाधिवेशनमा केन्द्रिय सदस्य पदमा निर्वाचित भएर आफ्नो राजनीतिक सफलताको यात्रा प्रारम्भ गरेका चौधरीले हालैको निर्वाचनमासमेत विजय प्राप्त गर्नुको अर्थ एउटै हो, जनता पनि चौधरीजस्ता स्पष्ट भिजन भएका जनप्रतिनिधि चाहन्छन् । उनको जित खासमा उनको भिजनप्रतिको जनअनुमोदन पनि हो ।चौधरीको विचारमा राजनीतिको अर्थ सत्ताको होड, भाषणवाजी र गालीगलौज पटक्कै हैन । समृद्ध नेपाल निर्माण गर्ने एक मात्र चाहनाबाहेक चौधरी राजनीतिमा आउनुको अर्को उद्देश्य छैन । त्यसैले उनले चुनावी सभाहरुमा भनेका थिए, ‘अबको राजनीति भनेको रोजगारी सिर्जना गर्ने हुनुपर्छ । कसरी स्वदेशमै रोजगारी सिर्जना गरेर विदेशीएका लाखौं नेपालीलाई स्वदेशमा फर्काउन सकिन्छ, अबको राजनीति त्यसमै केन्द्रित हुनुपर्छ ।’
हुन पनि हरेक वर्ष करीब ६ लाख नेपाली युवाहरु श्रम बजारमा प्रवेश हुन्न्, तिमध्ये करीब पाँच लाख वैदेशीक रोजगारीमा जान्छन् । स्वदेशमा त कनीकुथी ५० हजार रोजगारी सिर्जना हुन्छ । यस्तोमा चौधरीले भने झैं स्वदेशमै रोजगारी सिर्जना हाम्रो आर्थिक विकासको आजको मुलभूत चुनौती हो ।जनतालाई स्वास्थोपचारको सुनिश्चिता, बालबालिकालाई गुणस्तरीय शिक्षा, भ्रष्टाचारको अन्त्य, आर्थिक विकासको एजेन्डासहितको राजनीति नै आजको मुलभूत आवश्यकता भएकोमा चौधरी स्पष्ट छन् । यसैगरी बाह्य लगानीलाई नेपालमा स्वागत गर्ने बातावरण बनाउनेतर्फ पनि अबको राजनीति केन्द्रित हुनुपर्नेमा उनको सोच स्पष्ट मात्र हैन, प्रखरसमेत देखिन्छ ।
आर्थिक विकासका लागि दलका नेताका कोरा भाषणभन्दा चौधरीको भिजनबाट प्रभावित भएरै जनताले यसपाली उनलाई विजयी बनाएका हुन् भन्नेमा दुइमत नहोला । अतः यस्तै स्पष्ट भिजन भएका प्रखर नेताहरु अब सरकारमा समेत सहभागी भएको खण्डमा आर्थिक विकासतर्फ देशले सार्थक फडको मार्नसक्छ भन्ने आम अभिमत छ ।यसपालीको निर्वाचनको सकारात्मक पक्ष के हो भने विभिन्न पेशामा अनुभव हासिल गरीसकेका अनुहारहरुले विजय हासिल गरेका छन् । दक्ष युवा जनशक्तिको बहुलता छ । युवा, प्रखर र स्पष्ट भिजन भएका अनुहारलाई जिताउने जनताको पहलकदमीकै लहरमा चौधरीको पनि जित भएको हो । नेपाली काँग्रेसले अब यस्तै नयाँ र जोशिला अनुहारलाई उपयुक्त स्थानमा मौका दिनुपर्छ ।
नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने अब निश्चित भएको छ । यस्तोमा काँग्रेस पार्टी नेतृत्वको सरकारमा विनोद चौधरीजस्ता देशका लागि आफ्नो अनुभवको सदुपयोग गर्छु भन्ने जोशीला पात्रहरुलाई मौका दिनु जनमतको पनि कदर ठहरीनेछ ।अबको राजनीति परम्परागत ढँगले चल्नेवाला छैन । २०७४ को निर्वाचनमा करीब दुइ तिहाई बहुमत प्राप्त गरेका कम्युनिष्टहरुले आफ्नै घोषणापत्रमा कबूल गरेको स्थिरता, शुसासन र समृद्धिको नारालाई रद्दीको टोकरीमा मिल्काएर फुट र विभाजनको खेतिमा लागेकाले जनताको मन कुँडीएको छ ।
प्रतिपक्षमा बस्ने अभिभारा पाएको काँग्रेस पनि पछिल्लो समय सत्ता गठबन्धनका नाममा सरकारमै पुग्यो । सत्ता गठबन्धनले एमाले अध्यक्ष ओलीको लोकतन्त्रविरोधी चलखेललाई त रोक्यो, तर जनताका समस्या भने अझै पनि ज्यूँका त्यूँ छन् ।
जनता ठूला दलहरुप्रति निराश त छन्, तर उनीहरुमा आशा भने मरिसकेको छैन भन्ने कुरा पनि निर्वाचन परिणामले देखाएको छ । ठूला दलप्रतिको निराशा व्यक्त गर्नकै लागि राष्ट्रिय स्वतन्त्र पार्टीलगायतलाई केही उल्लेख्य मत र सिट दिलाएका जनताले ठूला दललाई भित्तैमा पु¥याएका पनि हैनन् । जनताले फेरी पनि दिएको यो मौकालाई अब चाहिँ मुलधारका दलहरुले गुम्न दिनुहुँदैन । र, जनतामा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आशा जगाउने एक मात्र शर्त हो, समृद्ध नेपाल निर्माणतर्फ गम्भीर पहलकदमी ।
अब पनि जनताको समृद्धिको चाहना पुरा गर्नतर्फ दलहरु लागेनन् भने २०८४ को निर्वाचनमा तिनको अस्तीत्व नै धरापमा पर्नसक्छ । यसर्थ पनि विनोद चौधरीलगायत आफ्नो क्षेत्रमा दक्ष अनुहारहरुलाई यथोचित मौका दिनु बाँछनिय देखिन्छ ।
उद्यममा लागेर नाम र दाम कमाइसकेका चौधरीका लागि अब नाम र दामको रहर पक्कै छैन । पार्टीभित्र र जनताको पँक्तिमा विजयी भइसकेका चौधरीको राजनीतिक प्रवेशको ध्येय निजी स्वार्थका लागि पक्कै हैन भन्ने उनको इमानदार प्रतिबद्धताबाट स्पष्ट हुन्छ ।
‘मैले आफ्नै पौरखले कमाउनु कमाइसकें, अब म सम्पन्न भएर मात्र हुँदैन, देशलाई नै सम्पन्न बनाउनुपर्छ, त्यसैले राजनीतिमा आएँ’ भन्ने पवित्र हृदयका साथ राजनीतिमा आएको र निर्वाचित पनि भइसकेको व्यक्तिलाई नेपाली काँग्रेसले मन्त्री बनाउन किन कन्जुस्याई गर्ने ?हामी विदेश भ्रमणमा जाँदा भोगेकै हो, नेपाली भन्नासाथ अध्यागमनमै हेपाहा व्यवहार गरिन्छ । गरीब देशको नागरिक हुनुको पिडा हरेक नेपालीले भोग्नुपर्छ । आफु विश्वकै खर्बपति भए पनि चौधरीको मनमा पनि लागेको हुँदो हो, म धनी भएर मात्र नहुँदो रहेछ, आत्मसम्मानका लागि त देश पनि धनी हुनुपर्दोरहेछ ।
सायद यही अन्तरप्रेरणाले नै उनलाई राजनीतिमा होमेको हो । अन्यथा, आफ्नो पौरखले आर्जन गरेको सम्पतीका आधारमा सुख सयल गरेर जिवन बिताउन सक्थे होलान् । तर, उनको चेतनाले देशको बेथिति, अभाव, गरीबी, बेरोजगारी देख्न सकेन ।
यसरी अन्तस्करणबाटै उदात्त भाव बोकेर राजनीतिमा प्रवेश गरेको र स्पष्ट भिजनका साथ आर्थिक विकासको लक्ष्य बोकेका चौधरीजस्ता नेतालाई काँग्रेस पार्टीले मौका दिएको खण्डमा पार्टीको मात्र हैन, देशकै भलो हुनेमा दुइमत नहोला ।
प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार १०:५१