काठमाडौं। नेकपा एमालेका नेता शेरधन राईले देशलाई स्थायित्व दिन कांग्रेससँग मिलेर सरकार बनाउन पहल गर्ने प्रस्ताव गरेका छन्।
प्रदेश १ का पूर्वमुख्यमन्त्री समेत रहेका राईले यस्तो प्रस्ताव गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘जतिसुकै महागठबन्धन बनाएर नेकपा एमालेलाई सिध्याउन खोजिएको भएतापनि त्यो अब असम्भव रहेको तथ्य स्थापित भएको छ र अब गठबन्धनको औचित्य समेत समाप्त भएको छ।
सँगसँगै जनादेशले स्पष्ट संकेत गर्दै भनेको छ कि निर्वाचन परिणामबाट पाठ सिक, स्थायी राजनीतिक शक्तिहरु मिलेर अगाडि बढ।’ निर्वाचन परिणामले फेरि पनि देशको लोकप्रिय एवम् बलियो पार्टी एमाले नै भएको देखाएको दाबी गरेका छन्। देशलाई राजनीतिक स्थायित्व, सुशासन विकास र समृद्विको अभियानलाई तीव्रता दिन बलियो र स्थिर सरकार बनाउन आवश्यक भएको उनको भनाइ छ।
‘सरकार बनाउने र भत्काउने फोहोरी खेल बन्द गर। यो जनादेशलाई आत्मासात गर्दै पहिलो र दोश्रो शक्तिको हैसियतमा जनअनुमोदित नेकपा एमाले र नेपाली कांग्रेसले तत्काल संवाद किन नथाल्ने ?’, उनले भनेका छन्, ‘देश र जनताको हित र स्वार्थलाई केन्द्र भागमा राखेर सहकार्य र प्रतिष्पर्धा किन नगर्ने ?’ नेपाली कांग्रेस अस्थिर शक्ति र समुहहरुकै वैशाखी टेकेर देश भाँडमै जावस् भन्ने चाहन्छ ? भन्दै प्रश्न गरेका छन्।
प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार १७:२३