सामाजिक संजालमा बालेन र भीम रावलबीच जुहारी



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र नेकपा एमालेका नेता भीम रावलबीच सामाजिक संजालमा जुहारी चलेको छ। साहले अमेरिकी राजदूत भेटेको विषयमा रावलले प्रश्न उठाएपछि उनीहरुबीच जुहारी चलेको हो। बालेनले आफूलाई अमेरिकी राजदूतले भेट्न आग्रह गरेकाले भेटेको बताएका छन् ।

रावलले उठाएका विषयलाई खण्डन गर्दै परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आफूलाई भेट्न आएपछि राजदूत डीन थम्पसनसँग भेटेको बताएका छन् ।

‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं,’ बालेनले लेखेका छन्, ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ’, बालेनले अगाडि लेखेका छन्, ‘एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’

एमाले नेता रावलले बालेनले बिहीबार अमेरिकी राजदूत थम्पसनसँग भेट्दा परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको हो कि होइन भनेर प्रश्न गरेका थिए ।

प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार २०:१३