काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रमध्ये मत गणना भइरहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन्।
मतगणना जारी रहेका दोलखा, स्याङ्जा २ र बाजुरामा सत्तारुढ गठबन्धन दलका उम्मेदवारले अग्रता लिइरहेका छन्। विवादका कारण पुनः मतदान भएको दोलखा तथा मतगणना रोकिएका स्याङ्जा २ र बाजुरामा दुई दिनदेखि मतगणना जारी छ।
शनिबार बिहानसम्म तीनै क्षेत्रमा सत्तारुढ गठबन्धन दलका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्। दोलखामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ७ हजार ६०८ मत ल्याएर अग्रस्थानमा छन्। एमालेका बालकृष्ण शिवाकोटी ६ हजार ७०० मत पाएका छन्।
स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले दुई हजारभन्दा बढी मतको अग्रता बनाएका छन्। गुरुङले २२ हजार १२० मत पाएका छन् भने एमालेका पद्मा अर्यालले २० हजार ४९ मत पाएका छन्।
बाजुरामा कांग्रेसका उम्मेदवार बद्री पाण्डेले दुई हजारभन्दा बढी मतको अग्रता बनाएका छन्। पाण्डेले १० हजार ४२३ मत पाएर अग्रस्थानमा छन् भने एमालेका कर्णबहादुर थापा ८ हजार ५०२ मत पाएर पछ्याइरहेका छन्।
प्रकाशित: १७ मंसिर २०७९, शनिबार ०७:०७