बैतडीमा युवती हत्या प्रकरण : सशस्त्र प्रहरी जवानको नाममा आफन्तले दिए किटानी जाहेरी

मोवाइल फिर्ता लिन बोलाएर हत्या गरेको खुलासा



काठमाडौं। बैतडीको पञ्चेश्वर गाउँपालिका-४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै किशोरीका आफन्तले सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी दिएका छन्।

सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका-४ का २७ वर्षीय भरत कोलीको नाममा किशोरीका आफन्तले किटानी जाहेरी दिएका हुन्। किटानी जाहेरीको आधारमा कोलीको खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका-६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। यस्तै सोही ठाउँकी १५ वर्षीया किशोरी नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते भएको अवस्थामा फेला परेकी थिइन्।

नेहालाई रक्ताम्य अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा फेला पारिएको थियो। घाइते नेहाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेसँग गरिएको सोधपुछका आधारमा भरत कोली घटनामा संलग्न रहेको खुलेको जनाइएको छ।

माया र नेहा मङ्गलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ भन्ने स्थानमा हिँडेका र बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो। फरार रहेका भरतको र मायाको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने खुल्न आएको छ। प्रेमसम्बन्धमा रहेका माया र भरतको बिहे गर्ने समेत तयारी रहेको बुझिएको छ।

बिदामा घर आएका भरतले केही दिन अगाडि मायाको मोबाइल फोन नियन्त्रणमा लिएका थिए। मङ्गलबार मोबाइल लिन बोलाएकै बेला मायाको हत्या भएको बुझिएको छ। माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत रहेकी थिइन्। प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कुलगायत सामग्री बरामद गरेको छ।

Tags :

प्रकाशित: १७ मंसिर २०७९, शनिबार ०८:२१