माओवादीको अश्र : कांग्रेससँग बार्गेनिङ पावर बढाउन एमालेसँग तालमेलको घुर्की !


तरुण पत्रिका

१८ मंसिर २०७९, आईतवार १३:२२

काठमाडौं। मंसिर ४ गते सम्पन्न आम निर्वाचनको अन्तिम परिणाम लगभग आएसँगै दलहरू नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन्। सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ।

नेकपा एमाले दोस्रो हुँदा गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्र तेस्रो ठूलो दल बनेको छ। चुनावी परिणामसँगै खासगरी प्रमुख तीन दल आफैंले सरकारको नेतृत्व गर्नेगरी तयारीमा जुटेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकार गठनको तयारी गर्दै आन्तरिक छलफलमा ब्यस्त बनेका छन्।

माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले सरकार गठनबारे सबै विकल्प खुल्ला राख्ने निर्णय गरेको छ। अहिलेको गठबन्धनबाहेक अर्को समीकरण बनाएर पनि सत्तामा जाने अवसर पाइने अवस्था त्यो अवसर पनि लिने दाउमा माओवादी छ। अर्थात सिधा शब्दमा भन्दा चित्त बुझ्दो भाग पाएर सरकारमा जान पाए अहिलेको गठबन्धनलाई लत्याएर अर्को गठबन्धन बनाउन पनि माओवादी तयार छ।

अहिले माओवादी तेस्रो शक्ति भएर पनि निर्णायक हैसियतमा छैन किनकि माओवादी एक्लैले पहिलो वा दोस्रो जुनसुकै दललाई समर्थन दिए पनि बहुमत पुग्दैन। कुनै न कुनै तेस्रो वा उस्तै परिस्थितिमा चौथो शक्तिको समेत आवश्यकता पर्छ।

प्रवक्ता कृष्णबहादुर महराले सबै विकल्प खुला गरिएको सार्वजनिक रुपमा बताएपनि माओवादी कांग्रेसकै नेतृत्वमा सरकार बन्नेमा सहमत भएको बताइएको छ। बैठकमा अध्यक्ष प्रचण्डले सकेसम्म आफ्नै नेतृत्वमा सरकार गठनको प्रयत्न गर्ने यदि त्यसो हुन नसके कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नेबारे तयारी गरिएको जानकारी गराएको एक पदाधिकारीले बताए।

ती पदाधिकारीले भने, ‘बाहिर महराजीले जे भने पनि नयाँ गठबन्धन हुने कुनै गुञ्जायस छैन त्यसो गर्नु राजनीतिक रुपमा उपयुक्त पनि हुँदैन। अहिलेलाई यही गठबन्धनलाई निरन्तरता दिनु नै सबै कोणबाट सही हुन्छ तर दलीय व्यवस्थामा छलफल त सबैसँग हुन सक्छ।’

माओवादी स्रोतका अनुसार सरकारको आलोपालो नेतृत्वका विषयमा आगामी दिनमा छलफल गर्दै अहिलेलाई कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने अन्तिम तयारी भइरहेको छ। माओवादीले चुनावी समीक्षा र आगामी सरकार गठनको प्रक्रिया लगायत विषयमा छलफल थालेको छ। तर तत्काल वामपंथीहरुको सम्वाद र सहकार्य नजुटिरहेको बेला यही गठबन्धनलाई नै निरन्तरता दिन माओवादी तयार रहेको ती पदाधिकारीको भनाइ छ।

माओवादीले समेत सरकारको नेतृत्व आफूले गर्नुपर्ने दाबी गर्दै आइरहेको बेला गठबन्धनमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको स्रोत बताउँछ। यद्यपि समयावधि भने अझै टुंगो लागिनसकेको स्रोतको दाबी छ। यदि कांग्रेसले सरकारको नेतृत्व गरेमा माओवादीले राष्ट्रपति पाउने निश्चित छ। तथापि गठबन्धनमा आउन सक्ने अन्य नयाँ दललाई समेत समेट्नुपर्ने भएकाले पदका बारेमा अझै यकिन नभएको स्रोतले जनाएको छ।

माओवादीका महासचिव देव गुरुङले तत्काल यही गठबन्धनलाई नै निरन्तरता दिनुपर्छ भन्ने पार्टीमा अनौपचारिक छलफल भएको बताए। ‘अरु बिस्तारै समयक्रममा के हुन्छ आज फेरि बैठक बस्दै छ। अहिले नै भन्न सकिन्न’, गुरुङले भने,’सरकारको नेतृत्वमा हाम्रो पार्टीको पनि दाबी रहेको छ।’ उनले थपे, ‘समानुपातिकतर्फको अन्तिम मतपरिणाम आएलगत्तै सरकार गठनको तयारी हुन्छ। त्यसको नेतृत्व कांग्रेसले नै गर्ने अहिलेसम्मको परिस्थतिले देखिन्छ त्यसमा हाम्रो दाबी पनि यथावत छ।’ त्यसपछि बाँकी केही समय सरकारको नेतृत्व गर्ने माओवादीको माग भने यथावत रहेको गुरुङको भनाइ छ।

संवैधानिक रुपमा कार्यपालिकाको काम कारबाही अगाडि बढाउन कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने र त्यसपछि अन्य भागबण्डामा टुंगो लगाउने गुरुङ बताउँछन्। राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायतका संवैधानिक पदहरूको बाँडफाँट गठबन्धनकै दलहरूको आन्तरिक सहमतिमा तय गर्ने उनको भनाइ छ।

पहिलो कार्यकाल कांग्रेसले नेतृत्व गरेपछि बाँकी आफूहरूले पाउनुपर्ने माओवादीको माग छ। तर समयावधिको बारेमा भने अझै टुंगो नलागेको महासचिव गुरुङ बताउँछन्। उनले भने, ‘बाँकी बाँडफाँटका बारेमा दलहरुबीचकै सहमतिवाट तय गरिन्छ। अहिले निर्वाचनको परिणाम सार्वजनिक भएर राष्ट्रपतिबाट सरकार गठनको आह्वान भएपछि ठूलो दलको हैसियतले सरकारको नेतृत्व कांग्रेसले नै गर्छ। त्यसपछि अरु विषयमा गठबन्धनले नै टुंगो लगाउँछ।’

Tags :

प्रकाशित: १८ मंसिर २०७९, आईतवार १३:२२