यसरी बन्न सक्छ कम्युनिस्टविनाकै बहुमतको सरकार


तरुण पत्रिका

१८ मंसिर २०७९, आईतवार १४:२२

काठमाडौं। आम निर्वाचनको परिणाम आएसँगै कुन दलको नेतृत्वका सरकार गठन हुन्छ होला भनेर सर्वत्र चासोको विषय बनेको छ। चुनावी परिणाम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु भइसकेको छ।

कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि सरकार बनाउन गठबन्धन नै गर्नुपर्ने निश्चित छ। २७५ सदस्यीय प्रतिनिधिसभामा नयाँ सरकार गठन गर्न साधारण बहुमतका लागि १३८ जना सांसदको समर्थन आवश्यक पर्छ। अहिलेको परिणामअनुसार १३८ सांसद् कम्युनिस्टइतर समूहसँग पुग्ने देखिन्छ। औपचारिक रूपमा निर्वाचन आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक नगरे पनि लगभग कुन दलले कति सिट प्राप्त गर्छन् भन्ने निश्चितजस्तै भइसकेको छ।

प्रत्यक्षतर्फको १६५ मध्ये १६४ सिटको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकततर्फ पनि कुन दलले कति सिट पाउनेछन् भन्ने अनुमान लगाउन सकिने अवस्था छ। तर, हालसम्मको विवरणअनुसार नै कम्युनिस्टइतर समूहललाई सरकार बनाउन बहुमत पुग्ने देखिएको हो।

प्रत्यक्षमा ५७ सिट जितेर कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। कांग्रेसले समानुपातिकबाट ३२ सिट पाउने देखिन्छ। जनअनुसार कांग्रेसको ८९ हुनेछ। कांग्रेसकै नेता अमेरशकुमार सिंह स्वतन्त्रबाट निर्वाचित भएका छन्। उनको समेत जोड्दा ९० सांसद पुग्नेछ। प्रत्यक्षमा सात सिट जितेको रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १४ सिट पाउनेछ। उसको जम्मा २१ जना सांसद रहने देखिन्छ।

सात सिट जितेको राप्रपाले समानुपातिकमा सात सिट नै पाउँदा १४ जना सांसद हुन्छन्। निर्वाचनमा राप्रपाले एमालेसँग तालमेल गरेको थियो। राप्रपा वामपन्थी पार्टी होइन। ऊ दक्षिणपन्थी पार्टी भएकाले सरकार बनाउने बेला उसको भूमिका कस्तो रहन्छ अहिले नै खुलिसकेको भने छैन।

एक सिट प्रत्यक्षमा जितेको सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा चार सिट पाउनेछ। उसका पाँच सांसद प्रतिनिधिसभामा रहनेछन्। यसैगरी प्रत्यक्षमा तीन सिट जितेको नागरिक उन्मुक्ति पार्टीसँग एक स्वतन्त्र सांसद छन्। रेशम चौधरीका बाबु लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन्।

तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्ने अवस्थामा रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा चार सिट जितेको छ। प्रभु साहसहित केही तीन स्वतन्त्र सांसद कतै खुलेका छैनन्। साह एमालेको टिकट लिएर अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएर जितेका हुन्। यी सबै दल र सांसद्‍को संख्या जोड्दा १४० पुग्छ।

Tags :

प्रकाशित: १८ मंसिर २०७९, आईतवार १४:२२