सरकार निर्माणबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज


तरुण पत्रिका

१९ मंसिर २०७९, सोमबार ०७:०९

काठमाडौ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि सत्तारूढ गठबन्धनको पहिलो बैठक आज बस्दै छ । चुनावी समीक्षा र नयाँ सरकार निर्माणलगायतमा पावर सेयरिङबारे प्याकेजमा छलफल हुनेछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका पद प्याकेजमै टुंग्याउने तयारी गठबन्धन दलहरूको छ ।

बैठक अपराह्न ३ बजेका लागि तय भएको नेताहरूले बताएका छन् ।माओवादी र एकीकृत समाजवादीले चुनावी नतिजा अपेक्षाकृत नभए पनि गठबन्धन सफल भएको प्रारम्भिक समीक्षा गरिसकेका छन् । उनीहरूले हालको गठबन्धनलाई नै पहिलो विकल्पका रूपमा प्राथमिकता दिने निर्णय पनि गरेका छन् ।

कांग्रेस र जनमोर्चाले भने चुनावी समीक्षा गर्न बाँकी छ ।चुनावी समीक्षाका साथै आगामी रणनीतिबारे बैठकमा छलफल हुने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । ‘सुरुमा चुनावी समीक्षा हुन्छ । त्यसपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुन्छ,’ उनले भने, ‘सत्तारूढ गठबन्धन कायमै रहेर नयाँ सरकार बन्ने हाम्रो विश्वास छ ।’ चुनावको समीक्षा गर्न गठबन्धनको बैठक बोलाइएको माओवादीका महासचिव देव गुरुङले जानकारी दिए । ‘गठबन्धनको बैठकमा चुनावी समीक्षा हुन्छ,’ उनले भने, ‘गठबन्धनको समीक्षा र निष्कर्षका आधारमा कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ ।’

प्रकाशित: १९ मंसिर २०७९, सोमबार ०७:०९