१३ सांसद जो १५ हजारभन्दा बढी मतान्तरमा भए विजयी



काठमाडौं। यहीँ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम टुंगिनै लाग्दा राष्ट्रिय राजनीतिमा केही नयाँ दलको उदय भएको छ भने, केही नयाँ उम्मेदवारले संसदमा प्रवेश पाएका छन्। पुराना र हेविवेट उम्मेदवार पराजितसमेत भएका छन्। विजयी भएकामध्ये १३ सांसदले प्रमुख विपक्षीभन्दा १५ हजार बढी मतान्तरले विजयी भएका छन्।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं.–२ बाट ३४ हजार ३१२ मतसहित भारी मतान्तरले विजयी भए। उनले सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता एवं स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पराजित गरेका हुन्। लामिछानेले ४९ हजार ३०० मत ल्याउँदा कांग्रेसका श्रेष्ठले १४ हजार ९८८ मत ल्याए।

यस्तै नेपाल मजदुर किसान पार्टीकै सचिव प्रेम सुवाल भक्तपुर निर्वाचन क्षेत्र नं.–१ बाट भारी मतान्तरले विजयी भए। उनी फराकिलो मतान्तरले विजयी हुने दोस्रा सांसद हुन्। उनले प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गरे। सुवालले ४२ हजार ७६१ मत ल्याएर विजयी भए भने गेलाल ११ हजार ९६८ मतमै सीमित भए।

त्यस्तै, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं.–५ बाट भारी मतान्तरले विजयी भए। उनी सबैभन्दा बढी मत पाउने उम्मेदवार पनि हुन्। यसपटक उनी २८ हजार ५७६ मतान्तरसहित विजयी भए। ओलीले ५२ हजार ३१९ मत ल्याउँदा नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत ल्याएर पराजित भए ।

अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा रूकुम पश्चिमबाट २६ हजार ५८८ मतान्तरले विजयी भए। उनले ३९ हजार ५४९ मत प्राप्त गरी विजयी हुँदा नेकपा (एमाले) का नन्दराम देवकोटाले १२ हजार ९६१ मत ल्याए। यस्तै रोल्पा क्षेत्र नं.–१ मा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन २५ हजार २२९ मतान्तरले निर्वाचित भए। यहाँ नेकपा (एमाले) का पूर्ण बुढामगरले पराजित भए। पुनले ४१ हजार ७१४ मत प्राप्त गरी निर्वाचित भए भने बुढामगरले १६ हजार ४८५ मत ल्याए ।

त्यस्तै, यसपटकको संसदीय निर्वाचनमा फराकिलो मतान्तरले विजयी हुनेमा मोरङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.–३ बाट नेपाली कांग्रेसका सुनिलकुमार शर्मा पनि छन्। उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरेका हुन्। शर्माले ४८ हजार ६३१ मत ल्याए भने, ढकालले २५ हजार ८९५ मत ल्याए।

यस्तै ललितपुर क्षेत्र नं.–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की भारी मतान्तरले विजयी भइन्। उनले लोकतान्त्रिक वाम गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारलाई पहिलो पटक पराजित गर्दै संसदीय यात्रा सुरू गरिन्।उनी आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार अमृत खड्कालाई १८ हजार १७३ मतान्तरले पछि पार्दै निर्वाचित भइन् । कार्कीले ३१ हजार १३६ मत ल्याउँदा खड्काले १२ हजार ९६३ मत ल्याएर पराजित भए ।

सप्तरी निर्वाचन क्षेत्र नं.–२ बाट प्रतिनिधि सभामा फराकिलो मतान्तरले जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउत विजयी भए। सीके राउत ३५ हजार ४२ मतसहित निर्वाचित हुँदा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित भए।यादवले १६ हजार ९७९ मत पाउँदा राउतले १८ हजार ८३ मतान्तरमा चुनाव जिते।

त्यस्तै, गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.–१ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं १६ हजार ६४३ मतान्तरले विजयी भएका छन् । बजगाईँले ३३ हजार ४२८ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का रामशरण बस्नेतले १६ हजार ७८५ मत ल्याएर पराजित भए ।रामेछाप निर्वाचन क्षेत्र नं.–१ बाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले ४७ हजार ९९ मत प्राप्त गरी विजय हासिल गरे । उनले नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पछि पारे । ढुंगेलले ३० हजार ७३० मत पाएर हार ब्यहोर्नु परेको छ।

यस्तै सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले १५ हजार ९१५ मतान्तरमा प्रमुख प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई हराए। शाहले १९७९२ मत पाउँदा ज्वालाले ३५७०७ मत पाएका थिए।यस्तै सर्वाधिक मतान्तरमा विजयी हुने अर्का सांसद कपिलबस्तुबाट निर्वाचित नेकपा एमालेका सांसद बलराम अधिकारी हुन्। उनले नेकपा माओवादी केन्द्रका चक्रपाणी खनाललाई १५ हजार ६९२ मतान्तरमा हराए। अधिकारीले ३४६७५ मत पाउँदा खनालले १८९८३ मत पाए।

यस्तै १५ हजार बढी मतान्तरमा विजयी हुने अर्का सांसद हुन्। राप्रपाबाट निर्वाचित ध्रुवबहादुर प्रधान। प्रधानले नवलपरासी बर्दघाट सुस्ता पश्चिम २ बाट नेपाली कांग्रेसका देबेन्द्र राज कँडेललाई १५ हजार १७० मतान्तरमा हराए। प्रधानले ३४७६४ मत पाउँदा कांग्रेसका कँडेलले १९५९४ मत पाए। यस्तै यो निर्वाचनमा थप १४ सांसदले १० हजारभन्दा बढी मतान्तरमा जित निकालेका छन्।

प्रकाशित: १९ मंसिर २०७९, सोमबार ११:२५