काठमाडौं। आम निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम परिणामले नेकपा माओवादी केन्द्रलाई निकै कम्जोर देखाएको छ। निर्वाचनको प्रत्यक्षतर्फको परिणामअनुसार प्रतिनिधिसभामा माओवादी चुनाव लडेको क्षेत्रमध्ये आधाभन्दा कममा मात्रै विजयी भएको छ।
सत्ता गठबन्धनबाट ४५ क्षेत्रमा उम्मेदवार उठएको माओवादीले १८ क्षेत्रमा मात्रै जित निकालेको छ। समानुपातिकतर्फ पनि केही मात्र मत गन्न बाँकी रहँदा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। कांग्रेसभन्दा केही कम सिट ल्याएर एमाले दोस्रो ठूला दल बन्दा माओवादी केन्द्र ‘कमजोर’ तेस्रो शक्ति बनेको छ।
चुनावअघि निर्णायक तेस्रो शक्ति बन्ने बताएको माओवादी चुनावी नतिजाले निकै कमजोर बनेको छ। अहिले दलहरू नयाँ सरकार गठनका लागि तयारीमा जुटिरहँदा माओवादीले सरकारको नेतृत्व दाबी गरिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने बताए पनि उनले आफ्ना प्रतिनिधिमार्फत एमालेसँग पनि संवाद जारी राखेका छन्।
माओवादीले संसदमा आफ्नो शक्ति बलियो बनाउन र सरकार गठनका लागि बार्गेनिङ गर्न एकीकृत समाजवादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्न खोजिरहेको छ। चुनाव अघि नै बाबुरामले समाजवादी केन्द्र बनाउन पहल गरेका थिए। त्यसमा एकीकृत समाजवादी पनि सकारात्मक थियो। एकीकृत समाजवादीले समाजवादी केन्द्र गठन गर्न सकिने र चुनाव लगत्तै पार्टी एकता गर्ने पनि बताएको थियो।
चुनावी परिणाम आइसकेपछि प्रचण्डले राखेको पार्टी एकताको प्रस्तावलाई एकीकृत समाजवादीका नेताहरूले तत्काल संभावना नरहेको बताएका छन्। नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकताको प्रचार निराधार भएको र अहिलेसम्म त्यसबारे वार्ता वा संवाद केही पनि नभएको प्रष्ट पारेका छन्।
‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रस्ट छौं तर अहिले त्यस विषयमा कुनै निर्णय त के वार्ता, छलफलसम्म केही भएको छैन’ विज्ञप्तिमा भनिएको छ। एकीकृत समाजवादीभित्र एमालेलाई बाहिर राखेर माओवादीसँग मात्रै एकीकरण गर्न नहुने मत बलियो बन्दै गएको स्रोतले बताएको छ।
सरकार गठन अघि एकता गर्दा त्यसको फाइदा आफूलाई भन्दा पनि बढी प्रचण्डलाई हुने भन्दै शक्ति बाँडफाँट अगाडि एकता गर्न नहुने मत बलियो भन्दै गएपछि अध्यक्ष माधव नेपाल पनि हच्किएको स्रोत बताउँछ। सोचेजस्तो परिणाम नआएपछि प्रचण्ड भने कोसँग मिल्दा सत्तामा बढीभन्दा बढी फाइदा हुन्छ भनेर हिसाब किताब गरेर बसेका छन्।
यो पनि पढ्नुहोस्
नेकपा एसले भन्यो : माओवादी केन्द्रसँग तत्काल पार्टी एकताको सम्भावना छैन
प्रकाशित: १९ मंसिर २०७९, सोमबार १२:४८