यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई



काठमाडौं। सुदूरपश्चिम प्रदेशले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो। प्रतियोगिता भर अविजित रहेको सुदूरपश्चिमले प्रतियोगिताको उपाधि जितेको छ।

६ खेलमा ६ खेल नै जितेर फाइनल पुगेको सुदूरपश्चिमले लुम्बिनीविरुद्ध सहज जित हात पारेको छ। जितका लागि पाएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा चार विकेट गुमाएर भेट्टायो। सुदूरपश्चिमलाई जिताउन दीपक बोहराले २५ तथा अनुराग सिंहले २२ रन बनाए। गजेन्द्र बोहरा ३९ रनमा नट आउट रहे।

लुम्बिनीका रमेश कुर्मीले २ तथा निर्मल गुरुङ र अभिषेक गौतमले समान १ विकेट लिए। यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनी २९.१ ओभरमा ९२ रन बनाउँदै अलआउट भएको थियो। लुम्बिनीका आकाश त्रिपाठीले ३८ र नर सार्कीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।

लुम्बिनीले अतिरिक्त १८ रन पाएको थियो। लुम्बिनीको इनिङ्स ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमका मिलन बोहराले ५ विकेट लिए। २ मेडन फालेका उनले ९ ओभरमा मात्र १५ रन दिएका थिए। हेमन्त धामी र नरेन साउँदले समान २ तथा आकाश चन्दले १ विकेट लिए।

Tags :

प्रकाशित: १९ मंसिर २०७९, सोमबार १३:५४