काठमाडौं। सुदूरपश्चिम प्रदेशको प्रत्यक्ष तर्फको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिक तर्फको नतिजा पनि अन्तिम चरणमा पुगेको छ।
आइतबार बाजुराको नतिजा सार्वजनिक भएसँगै प्रदेशमा प्रत्यक्ष तर्फको सबै नजित आएको हो। त्यसअनुसार कांग्रेस १२, माओवादी केन्द्र ८, नागरिक उन्मुक्ति पार्टीले ५, एमाले र नेकपा एसले समान ३/३ क्षेत्रमा जितेको छ।
प्रत्यक्ष तर्फबाट ३२ जना निर्वाचित हुँदा महिलाको सङ्ख्या शून्य छ। कुनै पनि क्षेत्रबाट महिला विजयी नभएपछि ५३ सदस्यीय प्रदेश सभामा अब १७ जना महिला समानुपातिक मार्फत चुनिने भएका छन्।
अहिले सम्मको परिणाम अनुसार प्रत्यक्षमा १२ क्षेत्र जितेको कांग्रेसले र प्रत्यक्षमा ३ क्षेत्र जितेको एमालेले समानुपातिकमा समान ७/७ जना सांसद पाउने छ।
त्यस्तै, प्रत्यक्षमा ८ क्षेत्र जितेको माओवादी केन्द्रले ३ र ५ क्षेत्र जितेको नागरिक उन्मुक्तिले २ सिट पाउने देखिएको छ। प्रत्यक्षमा ३ क्षेत्र जितेको नेकपा एकीकृत समाजवादी र प्रत्यक्षमा एक पनि सिट नजितेको राप्रपाले १/१ सांसद पाउने छन्।
समानुपातिकमा कुन दलबाट को-को सांसद ?
नेपाली कांग्रेस
नेपाली कांग्रेसले ७ जना सांसद पाउनेछ। कांग्रेसले खस आर्यबाट ४ जना, दलितबाट एक जना, थारुबाट एक जना र पिछडिएको क्षेत्रबाट १ जनालाई छनोट गर्ने छ।
निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीको आधारमा खस आर्यबाट मधु भारती, सरस्वती खड्का, जुना कुमारी दानी र डम्मरा महरा पर्ने छन्। दलितबाट ललिता सुनार र थारुबाट गीता कुमारी चौधरीको सम्भावना अधिक रहेको छ। त्यस्तै पिछडिएको क्षेत्रबाट धनबहादुर बुढा पर्ने छन्।
नेकपा एमाले
एमालेले पनि खस आर्यबाट ४ जना, दलितबाट एक जना, थारुबाट एक जना र पिछडिएको क्षेत्रबाट १ जनालाई छनोट गर्ने छ। त्यसमा अनिवार्य ३ जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ।
खस आर्यबाट अग्र पङ्क्तिमा रहेका सन्तोष शर्मा थापा, जानकी बम ,राजेन्द्र रावल र धर्म पाठकको सम्भावना बढी रहेको छ। दलित कोटाबाट राधिका भुजेल र हिरा सार्कीमध्ये एकजना पर्दा पिछडिएको क्षेत्रबाट भरत साउद र निर्मला साउदमध्ये एकजना तथा थारु कोटाबाट कुलवीर चौधरी र कोइली चौधरीमध्ये एक जना सांसद हुने छन्।
नेकपा माओवादी केन्द्र
प्रत्यक्षतर्फ ८ क्षेत्र जितेको माओवादी केन्द्रले समानुपातिक तर्फ ३ जना सांसद पाउने छ। माओवादी केन्द्रबाट तीनैजना महिला सांसद हुने छन्। खस आर्यबाट गीता देवी माल र जनकीदेवी कुँवर तथा दलितबाट लक्ष्मी बिक सांसद बन्ने प्रबल सम्भावना छ।
नागरिक उन्मुक्ति
प्रत्यक्षतर्फ ५ क्षेत्रमा विजयी भएको यो पार्टीले समानुपातिक तर्फ २ जना खस आर्यकै महिला सांसद बनाउनु पर्ने छ। यहाँबाट टिका थापा र इन्दिरा गिरीको सम्भावना अधिक छ।
नेकपा एकीकृत समाजवादी
प्रत्यक्ष तर्फ ३ क्षेत्र जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिक तर्फ १ जना सांसद पाउने छ। खस आर्यबाट महिला कोटामा माया पन्त सांसद बन्ने सम्भावना छ।
राप्रपा
प्रत्यक्षबाट राप्रपाले कुनै क्षेत्र जित्न सकेन। तर, समानुपातिक मत सङ्ख्याका करण एक सांसद पाउने छ। यस पार्टीबाट खस आर्य कोटाबाट पूर्णबहादुर चन्दको प्रवल सम्भावना छ।
प्रकाशित: १९ मंसिर २०७९, सोमबार १५:५४