रवि लामिछानेको नागरिकता बारे आयोगमा पनि पर्‍यो उजुरी, दोषी देखिए जेल सजाय हुन सक्ने


तरुण पत्रिका

१९ मंसिर २०७९, सोमबार १६:३९

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता बारे निर्वाचन आयोगमा उजुरी गरेका छन्। लामिछानेले अवैध वा निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेर दल दर्ता गरी उम्मेदवारी दिएको भन्दै उनको साधारण सदस्यतासमेत खारेज गर्न माग गर्दै समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले उजुरी दिएका हुन्।

लामिछानेले अर्को देशको नागरिक रहेकै अवस्थामा दोहोरो नागरिकता र पासपोर्ट लिएको तथा निष्क्रिय भइसकेको नागरिकताका आधारमा पार्टी दर्ता तथा उम्मेदवारी दिएको आरोप छ। गृह मन्त्रालयमा समेत सोही विषयमा सफलले उजुरी दिएका थिए।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेखेर नागरिकताको विषयमा छानबिन गर्न भनेको छ। गृह मन्त्रालयबाट पत्र प्राप्त भए लगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो सम्बन्धमा विस्तृतमा अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेखेको थियो।

जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि पत्र प्राप्त भएसँगै जिल्ला प्रहरी परिसरले लामिछानेको नागरिकता विवाद सम्बन्धमा छानबिन सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पुनः पत्र लेख्दै नागरिकता त्याग र प्राप्तिसम्बन्धी कागजात मगाएको छ।

साथै काठमाडौंस्थित अमेरिकी दूतावासलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएर लामिछानेले अमेरिकी नागरिकता प्राप्त गरेको मिति र त्याग गरेको भए सो खुल्ने मिति र निर्णयका बारेमा जानकारी दिन भनेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले अनुसन्धानकै क्रममा रहेको कारण यस विषयमा थप केही बोल्न नमिल्ने बताए।

गृह प्रशासनबाट अनुसन्धानका लागि पत्र आएको उनले बताए। प्रहरीका अनुसार प्रहरीले आफ्नो अनुसन्धान सकाएपछि त्यसको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बुझाउने छ। त्यसपछि सो सम्बन्धमा के गर्ने भन्ने निर्णय जिल्ला प्रशासन कार्यालयले नै तय गर्नेछ। दोषी देखिए जेल सजायसमेत हुन सक्छ।

Tags :

प्रकाशित: १९ मंसिर २०७९, सोमबार १६:३९