थप एकताबद्ध भएर अघि बढ्ने सत्ता गठबन्धनको प्रतिवद्धता


तरुण पत्रिका

१९ मंसिर २०७९, सोमबार १९:४९

काठमाडौं। सत्ता गठबन्धनले मंसिर ४ गते सम्पन्न आम निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको जनाएको छ।

चुनावको परिणामपछि पहिलो पटक सोमबार बसेको गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि जारी विज्ञप्तिमा निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको उल्लेख गरिएको छ।

निर्वाचनका दौरानमा देखिएका ती असमझदारीहरूको आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने भन्दै विज्ञप्तिमा गठबन्धनप्रति आम मतदाताले दर्साएको विश्वास र मायाप्रति आभार प्रकट गरिएको छ।

यसैगरी आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता गठबन्धनले गरेको छ। ‘निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयङ्गम गर्दै हामी गम्भीर समिक्षाका साथ अघि बढ्ने छौ’, गठबन्धनको विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। मुलुकका सामु विद्यमान चुनौतीहरुको सामाना गर्नु पर्ने अवश्यकताले यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Tags :

प्रकाशित: १९ मंसिर २०७९, सोमबार १९:४९